नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता

  जेठ २८, २०७९

काठमाडौं, जेठ २७ : नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच मर्जर सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबीच एकआपसमा गाभ्न गाभिनको लागि शुक्रबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा मेगा बैंक नेपालको तर्फबाट अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गर्नुभएको हो । यी दुवै बैंकले स्वाप रेसीयो १००ः९० को अनुपातमा मर्जरमा जाने सम्बन्धी एमओयुमा हस्ताक्षर सम्पन्न गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पुष्टि गर्नुभएको छ ।

मर्जरको क्रममा दुई बैंकलाई मिलाएर ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नाम राख्ने र स्वाप रेसियो मेगाको ९० र इन्भेष्टमेन्टको १०० अनुपातमा मर्ज गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । शुक्रबार अपरान्ह ३ः०५ बजेदेखि सुरु भएको मर्जरसम्बन्धी छलफल केही बेरअघि निष्कर्षमा पुगेको हो । उक्त सम्झौतामा दुवै बैंकका अध्यक्षले हस्ताक्षर गरेका छन् ।

नयाँ बन्ने नेपाल इन्मेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योतिप्रकाश पाण्डे, अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र नायव प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज जोशी रहने गरी मर्जर सम्झौता गरिएको छ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब तथा मेगा बैंक लिमिटेडको चुक्ता पुँजी १६.१२ अर्ब रहेकामा दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४.४३ अर्ब भै सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ ।

त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४.८२ अर्ब र मेगा बैंक नेपालको ५.९२ अर्ब, कर्जा लगानीतर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंकको १७३.४६ अर्ब र मेगा बैंक नेपालको १५०.४६ अर्ब र निक्षेपतर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको १८२.०१ अर्ब र मेगा बैंक नेपालको १५२.०८ अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।

दुवै बैंकहरु एकआपसमा गाभिएपछि संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवं सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ मर्जर कार्यमा लागेको दुवै बैंकका अध्यक्षले जानकारी गराउनु भएको थियो । उहाँहरुले यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ एवं सहयोग पु-याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकप्रति हार्दिक आभार गरेका छन् ।

इन्भेष्टमेन्टको प्रतिसेयर आम्दानी १८ रूपैयाँ ४ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ८० रूपैयाँ छ भने पुँजी बजारमा यसको सेयर २ सय ९९ रूपैयाँमा कारोबार भइरहेको छ। इन्भेष्टमेन्टको खराब कर्जा अनुपात २.२० प्रतिशत छ । त्यस्तै, मेगाको प्रतिसेयर आम्दानी १६ रूपैयाँ ७७ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ३६ रूपैयाँ छ भने अन्तिम सेयर मूल्य २ सय ३७ रूपैयाँ छ ।

तपाईको प्रतिक्रिया