काठमाडौँ ,जेठ २२ : नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु परिवर्तन गर्ने भएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको सचिवालय बैठकले २४ घण्टाभित्र हाल कायम रहेको मन्त्रीहरुलाई फिर्ता बोलाउने र सरकारमा नयाँ सेट पठाउने निर्णय गरेको बताए ।
‘मन्त्री परिवर्तन गर्ने निर्णय भएको छ । २४ घण्टाभित्र पुराना फिर्ता आउने र नयाँ साथीहरु सरकारमा जानु हुन्छ,’ खनालले भने । देउवा मन्त्रिपरिषदमा एसको तर्फबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ रहेका छन् । त्यसैगरी भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री रहेका छन् ।
उप महासचिव गंगालाल तुलाधारले यस विषयमा अन्तिम निर्णय गर्ने जिम्मा शीर्ष नेताहरुलाई दिएको बताएका छन् । ‘पार्टीको तर्फबाट मन्त्री हुनु भएको हो । पार्टीले आवश्यकता ठानुन्जेलसम्म उहाँहरु मन्त्री हुनुहुन्छ’ तुलाधारले भने, ‘त्यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।’
हेरेफेरको जिम्मा शीर्ष नेतालाई
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू हेरेफेर गर्ने जिम्मा शीर्ष नेतालाई दिएको छ । शनिबारदेखि चलिरहेको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई ६ महिना भनेर पठाएकाले शीर्ष नेताहरूबीच छलफल गरेर निर्णय लिने पार्टीका उपमहासचिव गङ्गालाल तुलाधारले बताउनुभयो ।
सरकारमा पार्टीका तर्फबाट एक राज्यमन्त्रीसहित पाँच मन्त्री सहभागी हुनुहुन्छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ हुनुहुन्छ । बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन पूर्वतयारीका लागि तीनै तहका सरकार र सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ ।
यसवर्ष पनि अघिल्लो वर्ष झै अधिक वर्षा हुने मौसमविद्को पूर्वअनुमानलाई ख्याल राख्दै बाढीपहिरो र मौसमका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गर्नुपर्ने भन्दै जोखिम व्यवस्थापनको गराइएको उपमहासचिव तुलाधरले बताउनुभयो । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि पार्टीको सम्पूर्ण शक्ति विपद् प्रतिकार्यमा परिचालित हुने बैठकले निर्णय गरेको छ । बैठकले वातावरण जोगाउनका लागि सचेतना फैलाउनुपर्नेमा जोड दिँदै सबै पक्षलार्य सोसम्बन्धी कार्यमा लाग्नसमेत आग्रह गरेको छ ।






