तालपोखरामा पर्यटकको आकर्षण बढ्दै

  जेठ १५, २०७९

रामपुर (पाल्पा), जेठ १५ : ‘मिनि फेवाताल’को नामले चिनिएको रामपुरको तालपोखरामा यतिबेला पर्यटकको आकर्षण बढेको पाइएको छ । यहाँ नयाँ र आरामदायी खालको डुङ्गा सुचारु गरिएपछि तालपोखराले पर्यटक लोभ्याइरहेको हो । पर्यटकलक्षित हाँस आकारको फाइवर प्याडल डुङ्गा चढ्ने र हेर्नेको उत्साह छ ।

निस्दी गाउँपालिका–४ मित्यालका निर्मल राना हाँस आकारको डुङ्गा सयर गर्दा काठको डुङ्गाको तुलनामा बेग्लै रमाइलो भएको बताउनुहुन्छ । पारिवारिक घुमघामका लागि तालपोखरा आउनुभएका रानाले निर्धक्कका साथ तालमा घुम्दा निकै रमाइलो लागेको सुनाउनुभयो । “काठको डुङ्गाको तुलनामा धेरै आनन्ददायी लाग्यो, डुङ्गाभित्र पानी पस्छ कि भन्ने डर पनि भएन, ढुक्कका साथ नयाँ डुङ्गामा परिवारसहित ताल घुमियो, धेरै आनन्द लाग्यो” उहाँले भन्नुभयो ।

उक्त डुङ्गामा आठ जनासम्म बस्न मिल्ने, सुरक्षित खालको, फोटो, भिडियो खिच्न सहज, एकै पटक धेरै जना सयर गर्र्न मिल्ने सुविधा छ । त्यसकारण पनि यस डुङ्गामा बसेर तालमा घुम्दै सेल्फी खिच्ने, टिकटक बनाउने, भिडियो तथा फोटो खिच्नेहरु बढेका हुन् ।

रामपुरमा नयाँ र देख्दै आकर्षक खालको भएकाले यहाँ घुम्न आउने पर्यटकले अनौठो मान्दै अवलोकन गर्ने गरेको बताउनुहुन्छ, स्थानीय भगवती खनाल । उहाँ भन्नुहुन्छ, “सानो काठको डुङ्गामा चढ्दा पानी पस्ने, हल्लिँदा डुङ्गा पल्टिँन्छ कि भन्ने मनमा त्रास हुन्थ्यो भने यसमा ढुक्क भएर चढ्न पाउँदा धेरै खुशी र रमाइलो लागेको छ ।”

यस आर्थिक वर्षमा रामपुर नगरपालिकाले जलमार्ग सामग्री खरिदका लागि रु १० लाख रकम उपलब्ध गराएको थियो । सो रकमबाट एउटा हाँस आकारको फाइवर प्याडल डुङ्गा रु चार लाखमा र एउटा काठको डुङ्गा रु दुई लाख ४० हजार खरिदमा खर्च गरिएको छ । बाँकी रकम तालपोखरा परिषरको करिब १४० मिटर पक्की बारबन्देज व्यवस्थापनमा खर्च गरिएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो ।

“पर्यटकहरु विभिन्न ठाउँबाट तलापोखरा हेर्नकै लागि आउनुहुन्छ, नयाँपन दिन र पर्यटन प्रवद्र्धनका लागि पोखराबाट हाँस आकारको नयाँ डुङ्गा खरिद गरी चलाउन थालेपछि तालपोखरामा छुट्टै खालको रौनकता थपिएको छ” उहाँले भन्नुभयो ।

दिउँसो र साँझपखको समयमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका हुन् ।

डुङ्गा चालक भगवान देवकोटाले हाँस आकारको डुङ्गाले रौनकता थपेको र यसैमा धेरैको आकर्षण बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नयाँ आउने पर्यटक आश्चर्यजनक मान्दै डुङ्गा चढ्ने गर्नुहुन्छ, यसमा सयर गर्दा आनन्दको अनुभूति हुने, देख्दै आकर्षक खालको रहेकाले पनि सबै उमेर समूहलाई लोभ्याइरहेको छ” । हाँस डुङ्गा प्रतिव्यक्ति रु १०० र काठको डुङगा प्रतिव्यक्ति रु ५० शुल्क कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया