काठमाडौं, जेठ ६ : गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मङ्गलबार सङ्घीय संसद्मा पेश हुने भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु हुँदै सभामुख अग्निप्रसाद सापकोटाले जेठ १० गते नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी गराउनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको र त्यसदिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्तरूपमा बोलाइएको छ । अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेश हुने सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराउनुभयो ।
राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुहुने बैठकमा उपस्थितिका लागि प्रतिनिधिसभाका सम्पूर्ण सदस्यलाई सभामुख सापकोटाले आह्वान गर्नुभएको छ । सभामुख सापकोटाले बैठक सुरु हुनुभन्दा १५ मिनेट अगाडि उपस्थित हुन सबै सदस्यलाई अनुरोधसमेत गर्नुभएको छ । संविधानको धारा ९५ अनुसार राष्ट्रपति भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने पत्रमा उल्लेख गरिएको छ ।






