दार्चुला, चैत १९ : कोरोनाका डरले गर्दा भारतमा गरिरहेको काम गर्न नपाएपछि धेरै नेपाली घर फर्कन खोजे । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका करिब एक हजार जना नेपाली महाकालीपारि आइपुगेका छन् ।
उनीहरूलाई नेपाल पस्न दिइएको छैन। उनीहरूमध्ये धारचुलास्थित महाकालीको गौशालामा तीन सय ८०, मिनि स्टेडियममा तीन सय ५, जौलजिवीमा दुई सय, गलातीको फायर ब्रिगेडमा ३२ र बलुवाकोटको स्कुलमा ७० जनालाई क्वारेन्टाइनमा राखिएको छ।
उनीहरूका लागि खानेबस्ने र स्वास्थ्य जाँच गर्ने काम भारतीय पक्षले गरिरहेको र आफूले उनीहरुको अवस्थामा बारेमा भारतीय पक्षसँग निरन्तर बुझिरहेको कुरा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।
मंगलबार पनि पुलबाट नेपाल पस्न नपाएपछि पौडेर महाकाली नदी तरेका एकजना र बलुवाकोटमा एउटा कोठामा राखिएका १४ जनामध्ये तीनजनासँग कान्तिपुर संवाददाता मनोज बडूले गरेको कुराकानीः
लोकेन्द्र बोहरा, डिलाशैनी गाउँपालिका, बैतडी
गरिबीले गर्दा दुई महिना पहिले मजदुरी गर्न भारतको दर पुगेको थिएँ। काम गर्दै जाँदा कोरोनाको डरले साथीहरूसँगै घर फर्किएँ। हामी १५ जना दरबाट दुई तीन पैदल हिँडेर खलंगा आइपुग्यौं।त्यहाँ आइपुगेको दुई दिनसम्म पनि महाकालीको पुल खुलाइएन। त्यहाँ मान्छे मान्छे भए।
नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ तर एउटै कोठामा २५/३० जनालाई राखिएको छ। ठूला हलमा त दुई सय जनासम्म छन्।
त्यहाँ भीडभाडले मरिएला जस्तो लाग्यो। कोही भोकले र कोही रोगले मर्लान् भन्ने डर लागेपछि पौडेर भए पनि महाकाली तर्छु, जस्तोसुकै दुःख कष्ट आइलागे पनि उतै सहन्छु भन्ने लाग्यो। मरे पनि आफ्नै माटोमा मर्न वेश ठानें। त्यसपछि पौडेर महाकाली नदी तरेर नेपाल आएँ। नेपाल आउनेबित्तिकै नेपाली प्रहरीले समाते।
उत्तम बोहरा, बैतडी पुर्चौडी नगरपालिका, मल्लादेही
आफ्नो खेतीबारीको कमाइले वर्षदिन पनि खान पुग्दैन। वैशाखमा काटेको गहुँले असारसम्मलाई पुग्दैन। असोजमा भाँचेको मकैले मंसिर महिनासम्मलाई खान पुग्दैन। मौसम राम्रो हुँदा र असिना परेर बाली सखाप नहुँदा खेती किसानीबाट दुई/तीन महिना मात्र खान पुग्छ। आफ्नै गाउँठाउँमा काम गरौँ भन्दा काम पाइँदैन। त्यसैले भारत गएर मजदुरी नगरे साँझबिहानको छाक टर्दैन। हामी बर्षौदेखि भारत गएर काम गर्दै आएका छौँ।
म अस्ति तिहार मनाएर ज्यालादारीमा काम गर्न भारतको बागेश्वरी गएको थिएँ। बिसु त्यार (नयाँ वर्ष) मनाउन घर आउने विचार थियो। कोरोना फैलन लाग्यो भनेर ठेकेदारले चाँडै घर फर्क भन्यो। त्यसपछि त्यहाँ काम गर्ने सबै नेपालीले सल्लाह गर्यौँ। दार्चुला नाकाबाट नेपालीहरुलाई घर जान दिएको छ भन्ने सुनेपछि भोक र निन्द्रा नभनी तीन दिन हिँडेर नेपालको सिमाना आइपुग्यौँ।
आज बुधबार हामी यहाँ आइपुगेको चार दिन भयो। खान, पिउन र सुत्नको टुङ्गो छैन। घर नजिक आइपुगेपछि झन् विजोग भयो।
नरेश भण्डारी, पुर्चौडी नगरपालिका, महादेवस्थान
आठ महिना पहिले काम खोज्दै भारतको थल गएको थिएँ। हाम्रो गाउँका अरु मानिस पनि त्यहाँ मजदुरी गरिहेका थिए। काम पाएको भए आउने दशैसम्म काम गर्ने र दशैँमा घर फर्केने विचार थियो। कोरोनाको डरले सबै घर फर्कन थालेपछि म पनि उनीहरूसँगै आएँ।
दार्चुलामा नाकाबाट नेपाल जान दिइरहेको छ भनेर बाटामा मानिसले भनेपछि हामी ३५ जना रातदिन खाइनखाइ चार दिन पैदल हिँडेर यहाँ आइपुग्यौँ। तर यहाँ आइपुगेको तीन दिनसम्म पनि स्वदेश टेक्न पाएका छैनौँ।
अरु देशले नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई आफ्नो देश फर्काउँदै छन अरे। हामीलाई चाहिँ आफ्नो देशले देश पस्न रोकेको छ। घर नजिक आइपुगेकालाई देश पस्न नदिनु कस्तो विडम्बना हो? हामी नेपालका नागरिक होइनौं भनौं भने हामी सबैसित नेपालको नागरिकताको प्रमाणपत्र छ।
भारतमा पनि क्वारेन्टाइनमा बसाएको छ। भेडाबाख्रालाई जस्तै गरी सयौं मान्छेलाई खाँदेर राखेको छ। क्वारेन्टाइनमा बस्नु परे आफ्नै देशमा बसौंला। जस्तो दुःख कष्ट गर्नु परे पनि आफ्नै देशमा सजिलो हुन्छ।
एघार वर्षदेखि भारतमा मजदुरी गरेर घर चलाउने खर्च जोहो गर्दै आएको थिएँ। यसपालि नाकामै बिचल्ली भएँ।
देवबहादुर ऐर, बैतडी पुर्चौडी नगरपालिका, ऐरीगाउँ
बिसु त्यारको खर्च जोहो गर्न माघेसंक्रान्ति खाएर भारतको बागेश्वर गएको थिएँ। त्यहाँ सडक बनाउने काम गर्थ्यौं। साइटमा ठेकेदारले ‘तीन महिनालाई काम बन्द हुन्छ, घर जाऊ’ भन्यो। तीन महिनासम्म काम नगरी के खाएर बस्नु भनेर सबै कामदार हिँडेर आयौँ।
ठेकेदारले ज्याला हिसाब गरिदिएन। बाटो खर्च भनेर अलिकति पैसा दियो। त्यसले बाटो खर्च पुगेन। बाटोमा खान नपाएपछि बागेश्वर नजिकको चली गाउँमा धान मागेर ओखलमा कुटेर एक छाक भात खाएर हिडेका थियौँ।
हाम्रो समूहका १५ जना अहिले सिमाना आइपुगेका छौं। अढाई सय जति नेपाली बाटोमै अलपत्र छन्। उनीहरू नैनीतालबाट पैदल हिँडेर पिथौरागढ जिल्लाको पनारघाट आइपुगेका थिए। अहिले त्यहीँ अड्किएका छन्। बैतडीको झुलाघाट नाकाबाट नेपाल पस्ने भन्थे उनीहरू।
घरमा आमाबुवाले बिसु मनाउन पैसा लिएर आउँछ भनेर सोचेका होलान्। आफू भने खर्च सकिएर रित्तो भएको छु। उनीहरू छोरो कहिले आइपुग्छ भनी पर्खिरहेका होलान्। आफूलाई नेपाल पस्न दिएको छैन। आँगनमा आइपुगेर घरभित्र पस्न नपाए जस्तो भएको छ।