‘चन्द्रागिरिमा उद्योग तथा पर्यटन क्षेत्रको प्रचुर सम्भावना ’

  बैशाख ०८, २०७९

काठमाडौँ, वैशाख ८ : चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले चन्द्रागिरी नगरपालिकामा उद्योग, कलकारखाना तथा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनले आज चन्द्रागिरिमा आयोजना गरेको ‘चन्द्रागिरिमा औद्योगिक सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले उपत्यकाको प्रमुख प्रवेशद्धारको रुपमा रहेको सो नगरपालिकामा उद्योगको प्रचुर सम्भावना रहेको बताउनुभएको हो । “चन्द्रागिरिमा उत्पादन क्षेत्रका विभिन्न ठूला औद्योगिक घरानाद्वारा सञ्चालित उद्योग सञ्चालनमा छन्, जसमा प्रकाश केवुल, सिजी कम्पनी, सिसा उद्योग, गोल्डस्टार उद्योग हुन्, त्यससँगै पर्यटन उद्योग पनि विस्तारै बढ्दो क्रममा छन्, साथै यस क्षेत्रमा अन्य उद्योगको पनि प्रचुर सम्भावना छ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख गिरीले भौतिक पूर्वाधारको विकासमा नगरपालिकाले प्राथमिकता दिएको बताउँदै आगामी दिनमा उत्पादनसँगै रोजगारलाई जोड्ने गरी नगरपालिकाले काम गर्ने बताउनुभयो । काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्धारको रुपमा रहेको चन्द्रागिरि नगरपालिकाले यस अवधिमा रोजगारी वृद्धिका लागि उत्पादित वस्तुलाई बिक्री वितरण गर्नका लागि विभिन्न कार्यक्रम अगाडि सारेको उहाँको भनाइ छ ।

नगरप्रमुख गिरीले चन्द्रागिरिलाई सामान स्टोर गर्ने हवको रुपमा विकास गरिँदै लाने बताउँदै आवश्यक कानुन, नियम, ऐन निर्माण गरी उद्योगलाई अझ सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष एवं संविधानसभा सदस्य पुष्कर आचार्यले चन्द्रागिरि नगरपालिकाले स्थानीयलाई रोजगारी प्रदान गर्ने खालका नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । “उद्योग सञ्चालन भएमात्र श्रमिकले रोजगारी प्राप्त गर्न सक्छन्, उद्योग खोल्ने वातावरण चन्द्रागिरीले निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो । अध्यक्ष आचार्यले चन्द्रागिरिसहित काठमाडौँ उपत्यका नै उद्योग र पर्यटनको अथाह सम्भावना भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका गभर्निङ बडीका सदस्य एवं नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष आशा सिंह राठौरले उद्योगको विकासले नै रोजगारी वृद्धि गर्ने भएकाले यसको विकासमा जोड दिनुपर्ने बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्रकुमार कुँवरले कोरोनाका कारण श्रमिकको रोजगारी गुम्दै गएको भन्दै औद्योगिक वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि मनमाया गिरीले चन्द्रागिरि औद्योगिकीकरणसँगै पर्यटकीय क्षेत्रमा पनि अथाह सम्भावना बोकेको क्षेत्र भएको बताउनुभयो ।

जिपी कोइराला लेवर फाउण्डेशनकी कार्यवाहक अध्यक्ष सुधा दाहालले जिपी फाउण्डेशनले श्रमिक, मजदुरलाई व्यवस्थित गर्ने, उद्योगको विकासमा टेवा पु¥याइ नेपालमा औद्योगिक शान्ति कायम गर्ने कार्य गर्दै आएको बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर खड्का, इम्ब्रोइडरी ह्याण्डिक्राफ्ट तथा सिलाइबुनाइ श्रमिक सङ्घका अध्यक्ष तेजप्रसाद रिजाल, नेपाल ट्रेड युनियन कांग्रेस भक्तपुरका अध्यक्ष विष्णु खड्का, जिपी कोइराला लेवर फाउण्डेशनका महासचिव सूर्य नेपाल, कोषाध्यक्ष इन्द्रमणि उप्रेती, सदस्य एवंं कार्यक्रम संयोजक गणेश भट्टराईलगायतले चन्द्रागिरि नगरपालिकालगायत देशभरका स्थानीय निकाय उद्योग तथा श्रममैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया