रियाद, साउदी अरब, १२ मङ्सिर : साउदी अरबले शनिबार राजधानी रियादलाई लक्षित क्रुज मिसाइल खसालिएको जनाएको छ । यसअघि हुथी मिडियाले यमनमा साउदी आक्रमणको रिपोर्ट गरेको थियो ।
यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई समर्थन गर्ने साउदी–नेतृत्वको गठबन्धनले गत गर्मीमा यमनको गृहयुद्ध फेरि सुरु भएदेखि हुथी नियन्त्रित क्षेत्रमा नियमित बमबारी गर्दै आएको छ ।
जवाफमा हुथी लडाकुहरूले तेलका लागि समृद्ध राज्य यमनमा लगभग दैनिक आक्रमण गर्दै आएका छन्, जसमा ऊर्जा सुविधा, विमानस्थल र रियादको वित्तीय क्षेत्रमा प्रहार भएको छ ।
“हवाइ रक्षा प्रणालीले हुथी आतङ्कवादी मिलिसियाले रियाद क्षेत्रतर्फ प्रहार गरेको क्रुज मिसाइल रोकेर नष्ट गरेको छ,” साउदी गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीले एक्समा लेख्नुभएको छ । यसैबीच हुथी समाचार एजेन्सी सावाले यमनको हुथी लडाकुहरूको नियन्त्रणमा रहेको राजधानी सानामा साउदी आक्रमण भएको रिपोर्ट गरेको छ ।
“सानाको अल–तहरीर जिल्लाको बिर अबू शाम्लाह आवासीय छिमेकलाई साउदी शत्रु बलले निशाना बनाएपछि आठ घर र तीन पसल क्षतिग्रस्त भएका छन्,” साबाले टेलेग्राममा पोस्ट गरेको छ । हुथी सञ्चारमाध्यम अल्मासिराका अनुसार यो आक्रमणमा १३ जना घाइते भएका छन् । (रासस/एएफपी)






