दक्षिण अष्ट्रेलियामा भीषण आँधीको वितण्डा, हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध

  १ घण्टा अगाडि

एडिलेड, अष्ट्रेलिया, २६ असोज : अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यमा आइतबार आएको भीषण आँधीका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । आँधीका कारण रुखहरू ढल्नुका साथै ठूलो असिना र तीव्र हावाले विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ। घटनापछि १०० भन्दा बढी व्यक्तिले आपत्कालीन सहायता मागेका छन् ।

राज्यका विभिन्न भागमा आइतबार दिउँसोदेखि सुरु भएको आँधी आइतबार राति राजधानी एडिलेडसम्म पुगेको थियो । तीव्र हावा र ठूलो असिनासहित आएको आँधीले जनजीवन प्रभावित बनाएको थियो ।

राज्य आपत्कालीन सेवा (एसईएस) का अनुसार आइतबार दिउँसोदेखि सोमबारसम्म सहायता माग्दै १०० भन्दा बढी फोन आएका छन्। तीमध्ये अधिकांश फोन रुख ढलेका घटनासँग सम्बन्धित थिए ।

आँधीका कारण आइतबार दिउँसो राज्यभर ७ हजारभन्दा बढी विद्युत् उपभोक्ता प्रभावित भएका थिए । एसए पावर नेटवर्क्सका अनुसार सोमबार दिउँसोसम्म पनि राज्यका विभिन्न स्थानमा १५ वटा विद्युत् अवरोध कायम थिए, जसबाट १ हजार ८७२ ग्राहक प्रभावित भएका थिए ।

तीमध्ये एडिलेडको दक्षिणपूर्वी क्षेत्रमा रहेको विद्युत् अवरोध सबैभन्दा ठूलो थियो । उक्त अवरोधका कारण ९६६ ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका थिए। एसए पावर नेटवर्क्सले प्रभावित क्षेत्रमा सोमबार रातिसम्म विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउने जनाएको थियो । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया