राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : प्रहरी महानिरीक्षक

  १ घण्टा अगाडि

काठमाडौँ, २६ असोज : नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक प्रहरीले पदीय दुरुपयोग गर्न नहुने बताउनुभएको छ ।

उहाँले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकार दुरूपयोग गर्दा प्रहरी सङ्गठन नै बदनाम हुने हुदाँ त्यसतर्फ हेक्का राख्न उहाँले आग्रह गनुभयो ।

राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा सम्बोधन गर्दा उहाँले सो कुरा बताउनुभएको हो ।

सो समारोहमा उहाँले प्रहरीको नेतृत्व आदेशमा नभई उदाहरणमा देखिनुपर्ने बताउनुभयो ।

दीक्षित हुने प्रहरी निरीक्षकलाई बधाई तथा शुभकामना दिँदै उहाँले लिएको शपथलाई व्यवहारमा जनताप्रति नरमभाव राखी काम गर्न निर्देशन दिनुभयो । “सेवाग्राहीप्रतिको व्यवहारदेखि, अनुसन्धानको गुणस्तर, कर्मचारीको मनोबलदेखि अनुशासन, समुदायसँगको सम्बन्धदेखि कठिन परिस्थितिमा लिइने निर्णयसम्म नेतृत्वको वास्तविक मूल्याङ्न गर्नेछन्,” उहाँले भन्नुभयो ।

प्रहरीको पोसाकले परिचय दिए जस्तै आचरणले नेपाल प्रहरीको परिचय बनाउने उहाँको भनाइ थियो । “प्रहरीको यो पदले अधिकार दिन्छ, चरित्रले उक्त अधिकारलाई वैधता दिन्छ । त्यसैले, पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै सम्झौता गर्नुहुने छैन,” उहाँले भन्नुभयो ।

महानिरीक्षक कार्कीले तालिम समापन भए पनि प्रहरी अधिकृतका रूपमा वास्तविक परीक्षा सुरु हुने उल्लेख गर्नुभयो ।

प्रहरी निरीक्षकको पद केवल एउटा दर्जा मात्रै नभई यो निर्णय गर्ने सामथ्र्य र उत्तरदायित्व बहन गर्ने योग्यताको महत्वपूर्ण परीक्षा भएको उहाँको भनाइ थियो ।

उहाँले सेवाका क्रममा भय, प्रलोभन, माया र द्वेषभावबाट मुक्त भई प्रस्तुत हुन निर्देशन दिँदै यो नै प्रहरी सेवाको मूल नैतिक आधार भएको बताउनुभयो ।

समारोहका प्रमुख अतिथि प्रधानमन्त्री वालेन्द्र शाहले सर्वोत्कृष्ट प्रशिक्षार्थी चोपबहादुर डेँगालाई कुलानन्द विद्या पुरस्कार प्रदान गर्नुभयो ।

प्रशिक्षार्थीले प्रधानमन्त्रीको सम्मानमा कार्यक्षेत्र प्रवेश कवाज प्रदर्शन गरेका थिए । साथै नेपाल सङ्गीत विद्यालयद्वारा साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।

नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गर्नुभयो ।

पुरस्कृत हुनेमा प्रहरी निरीक्षक चोपबहादुर डेंगा (अध्ययन विधा), गोपाल राई (शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि), रामकुमार जिटी (प्रहरी युक्ति तथा कारबाही), विकासकुमार धामी (चाँदमारी), विशाल पौडेल (सर्वतृतीय) र बालकृष्ण पोख्रेल (सर्वद्वितीय) हुनुहुन्थ्यो ।

दीक्षित हुने प्रहरी निरीक्षकहरूलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले शपथ खुवाउनुभएको थियो ।

प्रशिक्षार्थीले धार्मिक ग्रन्थ स्पर्श गरी शपथ ग्रहण गरेका थिए । प्रतिष्ठानका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

त्यस अवसरमा ७९ जना प्रहरी निरीक्षक दीक्षित हुनुभएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया