जापानमा ३७ वर्षमा अमेरिकी सेना सम्बद्ध व्यक्तिविरुद्ध झण्डै ५ हजार आपराधिक घटना : प्रतिवेदन

  ४ घण्टा अगाडि

टोकियो, २५ असोज : जापानमा सन् १९८९ देखि सन् २०२६ को मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न चार हजार ९९८ आपराधिक घटना दर्ता भएका छन् । तीमध्ये झण्डै आधा घटना ओकिनावा प्रिफेक्चरमा भएका छन् ।

जापानी अखबार अकाहाताले राष्ट्रिय प्रहरी एजेन्सीको तथ्याङ्क उद्धृत गर्दै जनाएअनुसार, उक्त अवधिमा ओकिनावामा मात्रै दुई हजार ४४७ आपराधिक घटना भएका छन्, जुन कुल घटनाको ४९ प्रतिशत हो । त्यसैगरी, कानागावामा १८.३ प्रतिशत र टोकियोमा ८.९ प्रतिशत घटना दर्ता भएका छन् । यस अवधिमा हत्या, डकैती, आगजनी र बलात्कारजस्ता गम्भीर अपराधका २६६ घटना देशभर दर्ता भएका थिए । 

तीमध्ये १२९ घटना ओकिनावा, ६७ घटना कानागावा र ३४ घटना टोकियोमा भएका थिए । प्रतिवेदनले अमेरिकी सैन्य अड्डाको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नु परेको र त्यससँग सम्बन्धित आपराधिक घटनाको समस्या समाधान गर्न जापान तथा अमेरिकाका सरकारले प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गरेको छ ।

जापानको कुल भूभागको करिब ०.६ प्रतिशत मात्रै क्षेत्रफल ओगटेको ओकिनावामा देशभरका अमेरिकी सेनाका विशेष प्रयोगका सैन्य सुविधा तथा संरचनामध्ये करिब ७० प्रतिशत रहेका छन् । यसले अमेरिकी सैन्य उपस्थितिको भार ओकिनावामा असमानरूपमा केन्द्रित रहेको देखाउँछ । प्रतिवेदन अनुसार, ओकिनावामा अमेरिकी सैन्य सम्बद्ध व्यक्ति संलग्न आपराधिक घटनाको संख्या सन् २०२५ मा १०१ पुगेको थियो । सन् २००३ पछि पहिलो पटक वार्षिक घटना संख्या १०० नाघेको हो । 

त्यस्तै, देशभर दर्ता भएका यस्ता घटनामध्ये ओकिनावाको हिस्सा ६७.८ प्रतिशत पुगेको थियो, जुन सन् १९८९ यताकै उच्च हो । यसैबिच, अक्टोबर ४ मा ओकिनावा प्रहरीले फुतेन्मास्थित अमेरिकी मरिन कोप्र्सको हवाई सैन्य अड्डामा तैनाथ एक अमेरिकी मरिनलाई स्थानीय महिलाको लुटपाट तथा हत्या गरेको आशंकामा पक्राउ गरेको थियो । उक्त घटनापछि ओकिनावामा अमेरिकी सैन्य उपस्थितिलाई लिएर स्थानीय जनतामा रहेको असन्तुष्टि पुनः चर्किएको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया