लन्डन, २५ असोज : अमेरिका र युक्रेनबीच रुसी डिजेल व्यापारसम्बन्धी अमेरिकी निर्णयलाई लिएर तनाव बढिरहेका बेला बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आफ्नो पूर्ण ऐक्यबद्धता पुनः व्यक्त गर्नुभएको छ ।
बेलायती प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ द्वारा शनिबार जारी विज्ञप्तिअनुसार, जेलेन्स्कीसँगको टेलिफोन वार्तामा बर्नहमले पछिल्लो २४ घण्टा युक्रेनका लागि कठिन रहेको उल्लेख गर्दै आफ्नो पूर्ण समर्थन दोहो¥याउनु भएको हो ।
बर्नहमले रुसमाथिका प्रतिबन्ध थप कडा बनाउने बेलायतको प्रयास जारी रहने बताउनुभयो । दुवै नेता आगामी दिनमा छलफललाई निरन्तरता दिन प्रत्यक्ष भेट्न पनि सहमत भएको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको धारणा व्यक्त गरेको भोलिपल्ट दुई नेताबीच टेलिफोन वार्ता भएको हो । ट्रम्पले जेलेन्स्कीमाथि रुससँग शान्ति सम्झौता गर्न असफल भएको आरोप लगाउनुका साथै अमेरिकामा डिजेलको मूल्य बढ्नुमा उहाँलाई दोष दिनुभएको थियो ।
यसअघि शुक्रबार वासिङ्टनले रुसी डिजेल व्यापारमाथि लगाइएका प्रतिबन्ध खुकुलो पार्ने उपाय घोषणा गरेको थियो । त्यसको आलोचना गर्दै जेलेन्स्कीले रुसलाई पेट्रोलियम पदार्थ बिक्री गर्न अनुमति दिनु युद्धमा लगानी गर्नु सरह भएको बताउनुभएको थियो । (रासस/सिन्ह्वा)






