चितवन, १९ असोज : यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले बगाएको राइनो क्रुज हालसम्म झिक्न सकिएको छैन । क्रुज नारायणी नदीले बगाएर तीन सय मिटर टाढा नारायणीको पुलमुनि पिलरमा ठोक्किएर अड्किएको थियो ।
क्रुजका कारण पुलमा असर पर्ने भन्दै तत्कालै झिक्ने प्रयास गरिए पनि हालसम्म सम्भव भएको छैन । जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय चितवन, गैँडाकोट नगरपालिकालगायत निकायको सक्रियतामा तीन वटा क्रेनको सहायतामा क्रुज तान्ने प्रयास गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
क्रुजलाई तानेर पिलरबाट छुटाई पल्टाएर राखिएको जनाउँदै क्रुज सञ्चालन गरेको राइनो वाटर इन्टरटेन्टमेन्टका अध्यक्ष दीपक ढुङ्गेलले त्यहाँबाट बाहिर निकाल्न नसकिएको बताउनुभयो । उहाँका अनुसार अहिले पनि क्रुजको ३३ प्रतिशत भाग पानीमुनि छ । क्रुजका ठूला इञ्जिनहरू पानीमा डुबेको अवस्थामा छन् ।
अहिले क्रुजका कारण पुललाई कुनै क्षति नहुने भएकाले पानी घटेपछि बाहिर निकाल्ने योजना बनाइएको ढुङ्गेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पानी घटेपछि बाटो बनाएर अन्य उपकरणको प्रयोगले तानेर बाहिर लैजाने प्रयास गर्नेछौँ । अहिले क्रुज भित्तामा टाँसिएको छ । टुचिन लगाएर एङ्कर गाडेर अड्याइएको छ ।”
क्रुज सञ्चालन गरेको कम्पनीका तर्फबाट आफूले गृह, पर्यटन मन्त्रालयलगायत सरकारी निकायमा यसको जानकारी औपचारिक रूपमा गराएको अध्यक्ष ढुङ्गेलले बताउनुभयो । भरतपुरको काभ्रेघाटमा तटबन्धन गरेर सञ्चालन गरिएकामा यहाँ असहज भएपछि नवलपरासीको गैँडाकोटबाट सञ्चालन हुँदै आएको थियो ।
ढुङ्गेलका अनुसार ठाउँसार गरी गैँडाकोटको नदीमा क्रुज सञ्चालन गरिएकामा वर्षासँगै असारदेखि नदी किनारमा राखिएको थियो । उहाँले क्रुज सञ्चालनका लागि ३० जनाले रु १५ करोड लगानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीले बगाएपछि यो क्रुज सञ्चालन गर्न सक्ने अवस्थामा छैन । यसबाट रु १० करोडभन्दा बढी नोक्सान भएको छ ।”
समूहगत लगानीमा रहेकाले अब के गर्ने भन्ने बारेमा छलफल गरिने ढुङ्गेलले बताउनुभयो । विपद्का कारण क्षतिग्रस्त भएकाले सरकारी निकायबाट आवश्यक सहयोग पाउनेमा आफूहरू विश्वस्त रहेको उहाँले बताउनुभयो । यस्तो क्रुज नेपालमा नभएकाले बीमा प्राधिकरणसँग पनि योजना नहुँदा बीमा गर्न नसकिएको उहाँको भनाइ छ ।
सरकारको गौरवको आयोजना भएकाले यसलाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न सरकारी सहयोग आवश्यक पर्ने अध्यक्ष ढुङ्गेलले उल्लेख गर्नुभयो । कम्पनीले १५० जना यात्रुलाई देवघाटबाट गोलाघाटसम्म ४० किलोमिटर जलयात्रा गराउन पाउने गरी पर्यटन विभागबाट अनुमति लिएको उहाँले जानकारी दिनुभयो ।
यो क्रुज ९५ फिट लामो र २१ फिट चौडा छ । साढे दुई तलाको क्रुजमा १५० जनाले एकैपटक सेवा लिन सक्ने ढुङ्गेलले जानकारी दिनुभयो । क्रुजमा खाजा, बिहानको खाना, बेलुकाको खानाका साथै विवाह, व्रतबन्ध, पास्नी र जन्मोत्सव जस्ता शुभ कार्य गर्ने गरिएको थियो । पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले परियोजना सञ्चालनमा ल्याइएको उहाँले बताउनुभएको राससमा उल्लेख छ ।






