मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फिर्ता, सुरक्षामा प्रश्न

  ७ घण्टा अगाडि

याङ्गुन, १८ असोज : मलेसियाबाट करिब एक हजार ५०० म्यान्माली नागरिक आइतबार स्वदेश फर्किएका छन् । म्यान्माका एक सरकारी अधिकारीका अनुसार उनीहरूलाई युद्धको अवस्थाबाट प्रभावित देशमा फर्काइएको हो । 

मानवअधिकार सम्बन्धी संस्थाले भने उनीहरूको सुरक्षाबारे पर्याप्त सुनिश्चितता नरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । फर्किएका आफन्तलाई लिन बिहानै सयौँ परिवार थानलिनस्थित म्यान्मार नौसेनाको आधार शिविरबाहिर पुगेका थिए । केही परिवारले आफन्तको तस्बिर र नाम लेखिएका कागज बोकेका थिए ।

तर, अधिकांश परिवारले तत्कालै आफ्ना आफन्तलाई भेट्न पाएनन् । नौसेनाका एक अधिकारीले फर्काइएका व्यक्तिलाई याङ्गुन क्षेत्रका विभिन्न स्थानमा लगिने र त्यहाँ आफन्तसँग भेट गराइने जानकारी दिएका थिए । एक महिलाले मलेसिया पुगेको तीन महिनापछि पक्राउ परेका आफ्ना १९ वर्षीय भाइलाई खोजिरहेकी थिइन् । फर्काइने व्यक्तिको सूचीमा भाइको नाम देखिए पनि शिविरभित्र गएर भेट्न नपाएको उहाँले बताउनुभयो ।

मलेसियाबाट मंगलबार तीन वटा नौसैनिक जहाजमा १ हजार ४७६ जना म्यान्माली नागरिक ल्याइएको सरकारी विवरणमा उल्लेख छ । मलेसियाले पहिलो चरणमा करिब ५ हजार जनालाई स्वदेश फर्काउने योजना बनाएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घ र मानवअधिकार संस्थाले भने म्यान्मामा सन् २०२१ को सैन्य सत्ता परिवर्तनपछि जारी द्वन्द्वका कारण फर्काइएका व्यक्तिको सुरक्षा सुनिश्चित गर्न कठिन हुने बताएका छन् ।

मलेसियाले उनीहरू स्वेच्छाले स्वदेश फर्कन सहमत भएको जनाएको छ । तर, संयुक्त राष्ट्रसङ्घ तथा मानवअधिकार संस्थाले उनीहरूसँग स्वदेश फर्कन पर्याप्त विकल्प थियो कि थिएन भन्ने विषयमा प्रश्न उठाएका छन् । फर्काइएका मध्ये रोहिङ्ग्या समुदायका मानिस पनि हुन सक्ने भन्दै मानवअधिकारकर्मीले थप चिन्ता व्यक्त गरेका छन् । 

म्यान्माबाट ठूलो संख्यामा विस्थापित भएका रोहिङ्ग्या समुदायका धेरै मानिस हाल मलेसियामा शरण लिँदै आएका छन् । म्यान्मामा सन् २०२१ देखि जारी द्वन्द्वका कारण ठूलो मानवीय संकट देखिएको छ । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले हिंसाबाट प्रभावित अवस्थामा मानिसलाई जबर्जस्ती स्वदेश फर्काउनु उपयुक्त नहुने बताउनुभएको छ । (रासस/एएफपी) 

तपाईको प्रतिक्रिया