स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

  ११ घण्टा अगाडि

म्याड्रिड, १८ असोज : अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले अत्यावश्यकबाहेकका यात्रामा प्रतिबन्ध लगाएका छन् । कातालोनियामा बाढी सम्बन्धी आपतकालीन योजना सक्रिय गर्दै २० प्रशासनिक क्षेत्रमा आइतबार दिउँसोसम्म प्रतिबन्ध लागू गरिएको छ ।

अधिकांश यात्रुवाहक तथा क्षेत्रीय रेल सेवा पनि स्थगित गरिएको छ । मौसमविदले आइतबार बिहान मौसमको जोखिम उच्चतम तहमा पुग्न सक्ने चेतावनी दिएका छन् । केही क्षेत्रमा तीन घण्टामै ९० मिलिमिटरभन्दा बढी र २४ घण्टामा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा मोबाइल फोनमार्फत आपतकालीन सूचना पठाइएको छ ।

कातालोनियाका क्षेत्रीय राष्ट्रपति साल्भाडोर इयाले सर्वसाधारणलाई अत्यधिक सावधानी अपनाउन आग्रह गरेका छन् । अधिकारीहरूले भारी मेघगर्जनसहितको वर्षा, तीव्र हावा तथा पानीका बवण्डर वा टोर्नाडो आउन सक्ने चेतावनी दिएका छन् । आँधी आइतबार उत्तरतर्फ सर्ने अनुमान गरिएको छ । 

यसैबिच, मध्य-पूर्वी स्पेनको अल्बासेते प्रान्तस्थित माद्रिगेरासमा आएको आकस्मिक बाढीमा १०२ वर्षीया एक महिलाको मृत्यु भएको छ । बाढीका कारण घर, सवारीसाधन तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ । करिब दुई घण्टामा प्रति वर्गमिटर १४० मिलिमिटरभन्दा बढी वर्षा भएपछि आएको बाढीका कारण करिब ९० जनालाई सुरक्षित स्थानमा सारिएको थियो । प्रभावित स्वास्थ्य केन्द्रबाट सेवा सञ्चालन गर्न नसकिएपछि स्वास्थ्य सेवा अस्थायीरूपमा रेडक्रसको परिसरबाट सञ्चालन गरिएको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया