रसुवा, १८ असोज : नेपाली सेनाको नेतृत्वमा रसुवा–नुवाकोट सीमासँगै बेत्रावतीस्थित फलाखुखोलामा निर्माण भइरहेको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने भएको छ । गत भदौमा आएको बाढीले फलाखुखोलाको पक्की पुल बगाएपछि अवरुद्ध पासाङल्हामु मार्गमा बेलीब्रिज निर्माणसँगै सडक यातायात सञ्चालनमा आउने भएको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार गल्छी–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाले आगलीटार–बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याएपछि बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न सहज भएको छ ।
“बेलीब्रिज जडानका क्रममा आवश्यक सामग्री बेत्रावतीस्थित निर्माणस्थलमा पु¥याइएको छ । बाढी प्रभावित जनतालाई राहत दिने सरकारी नीति तथा कार्यक्रमलाई मूर्त रूप दिन बडादसैँअघि नै बेलीब्रिज जडान गरी सवारीसाधन सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ,” प्रवक्ता बस्नेतले भन्नुभयो ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले बेत्रावती बजार क्षेत्रमा ठूलो क्षति पु¥याउनुका साथै फलाखुखोलामा रहेका पुराना र नयाँ दुवै पक्की पुल बगाएको थियो । पुल बगेपछि काठमाडौँ–नुवाकोट हुँदै रसुवासम्मको सडक यातायात प्रभावित भएको छ ।
पुल नहुँदा रसुवाको दक्षिणी तथा उत्तरी क्षेत्रबीचको आवागमन, दैनिक उपभोग्य वस्तुको ढुवानी तथा अत्यावश्यक सेवा प्रभावित हुँदै आएको छ । बेलीब्रिज निर्माणपछि राजधानी काठमाडौँसँग रसुवाको सडक सम्पर्क सहज हुने जिल्लावासीको अपेक्षा छ ।
संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले दसैँअघि बेत्रावतीमा पुल सञ्चालनमा आए आमसर्वसाधारणलाई चाडपर्वका बेला आवतजावत गर्न सहज हुने बताउनुभयो । पुल सञ्चालनसँगै नुवाकोट हुँदै काठमाडौँसँग रसुवाको सडक सम्पर्क पुनः सहज हुने उहाँले बताउनुभयो ।
उहाँले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै यातायात सञ्चालनमा सरकारले गरेको पहल र बाढीपछि नेपाली सेनाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको राससमा उल्लेख छ ।






