काठमाडौँ, १६ असोज : राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का महामन्त्री विपीन आचार्यले नागरिकको परिवर्तनप्रतिको उच्च आकाङ्क्षा र राज्य संयन्त्रको सुस्त कार्यशैलीबीचको खाडल पुर्न सरकार र संसद् दुवैले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै सांसद आचार्यले नागरिकले द्रुत नतिजा खोजिरहेको अवस्थामा राज्यका प्रक्रिया र कार्यशैली अपेक्षाकृत सुस्त रहेका उल्लेख गर्दै समयमै नागरिकका अपेक्षा सम्बोधन गर्न नसके राजनीतिक नेतृत्वप्रति प्रश्न उठ्ने बताउनुभयो ।
उहाँले सरकारको मूल्याङ्कन गर्दा नयाँ नेतृत्वले दशकौँदेखि थुप्रिएको बेथिति, अलपत्र विकास आयोजना र परम्परागत कार्यशैली बोकेको राज्य संयन्त्र सम्हाल्नुपरेको यथार्थलाई ध्यान दिनुपर्ने बताउँदै गठन भएको छ महिना नपुग्दै सरकारको समग्र मूल्याङ्कन गर्नु हतारो हुने धारणा राख्नुभयो ।
सांसद आचार्यले प्रतिपक्षले सरकारको विरोधका लागि विरोध गर्ने परम्परागत शैली त्यागेर तथ्य र तर्कका आधारमा रचनात्मक आलोचना गर्नुपर्ने बताउनुभयो । उहाँले संसदमा जनसरोकारका विषय उठाउने क्रम बढे पनि ती विषयको अभिलेखीकरण, वर्गीकरण, प्राथमिकीकरण र समाधानतर्फ पर्याप्त ध्यान दिनुपर्नेमा जोड दिनुभएको राससले जनाएको छ ।






