क्यानबेरा, १६ असोज : अष्ट्रेलियाको अनलाइन सुरक्षा नियामक निकायले बाल यौन शोषण विरुद्धको सुरक्षालाई बलियो बनाउन रोब्लक्स र फोर्टनाइट लगायतका अनलाइन गेमिङ सेवा प्रदायकलाई आह्वान गरेको छ । अष्ट्रेलियाको ‘ईसेफ्टी आयुक्त जुली इनम्यान ग्रान्ट’ ले शुक्रबार खेल सेवा प्रदायकले चालेका बाल सुरक्षा उपायमा महत्वपूर्ण भिन्नता देखाउने प्रतिवेदन जारी गर्नुभएको छ ।
प्रतिवेदनका अनुसार रोब्लक्स, फोर्टनाइट, माइनक्राफ्ट र स्टीम पछाडि प्रदायकसँग बच्चाले पहुँच पुग्न सक्ने उच्च जोखिम युक्त खेल छन्, यस्ता खेलले बाल यौन शोषण वा गतिविधिको लागि वातावरण सिर्जना गर्न सक्छ जसले अपराध वा हिंसालाई बढावा दिन्छ । अस्ट्रेलियाका बालबालिकालाई शिकारी, यौन सट्टाबाजी, हिंसात्मक चरमपन्थी सामग्री वा अन्य हानिकारक सामग्रीको पर्दाफास नगरी सुरक्षित अनलाइन खेल्ने अधिकार कायम रहेको इनम्यान ग्रान्टले बताउनुभयो ।
उहाँले थप्नुभयो “सेवा प्रदायकले सरल सेवा प्रणालीको लाभ उठाउनुपर्छ । जसले वास्तवमा बच्चा उनीहरूको सम्पर्कमा आउनुअघि नै गम्भीर हानि पत्ता लगाउँछन् र बाधा पुर्याउँछन् ।” प्रतिवेदनका अनुसार, फोर्टनाइट र माइनक्राफ्ट दुवैका प्रदायकले बालबालिकाका खाताका लागि सुरक्षा प्रदान गर्छन्, तर सामान्यतया प्रयोग कर्ताले घोषणा गरेको उमेर जानकारीमा भर पर्छन्, जसले वयस्क प्रयोग कर्तालाई थप उमेर जाँच बिना उच्च जोखिम सुविधा पहुँच गर्न अनुमति दिन्छ ।
प्रतिवेदनमा खेल वितरण प्लेटफर्म स्टीमको प्रदायक भल्भले सन्देश सेवा स्टीम च्याटमा हुने हानि सक्रियरूपमा पत्ता लगाउन उपकरण प्रयोग गर्न असफल भएको जनाइएको छ । रोब्लक्स र भल्भले भाषा पत्ता लगाउने प्रणालीलाई तालिम दिन केवल आन्तरिक सूचनाको प्रयोग गरेको रिपोर्ट गर्दै ती मोडेललाई नियमितरूपमा पुनः तालिम नदिएको बताइएको छ । इनम्यान ग्रान्टले युवा खेलाडीको सुरक्षाका लागि अर्थपूर्ण र निरन्तर सुरक्षा उपाय अपनाउनु खेल सेवा प्रदायकका लागि महत्वपूर्ण रहेको कुरामा जोड दिनुभएको छ । (रासस/सिन्ह्वा)






