उत्तर कोरियालाई वार्तामा आउन लीको आह्वान

  ६ घण्टा अगाडि

सियोल, १५ असोज : दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँगको विश्वास पुनः स्थापित गर्दै वार्ता अघि बढाउन आह्वान गर्नुभएको छ । दक्षिण कोरियाली सैनिक घाइते हुने गरी दुई देशबिचको असैन्यीकृत क्षेत्र (डिएमजेड) मा विस्फोट भएको केही दिनपछि उहाँले यस्तो आह्वान गर्नुभएको हो ।

दक्षिण कोरियाको सशस्त्र सेना दिवसका अवसरमा बिहीबार सम्बोधन गर्दै राष्ट्रपति लीले लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरिया विश्वास पुनः स्थापना र वार्ता पुनः सुरु गर्ने प्रक्रियामा सहभागी हुने आफूले आशा गरेको बताउनुभयो । गत सेप्टेम्बर २१ मा डिएमजेडमा भएको विस्फोटका लागि दक्षिण कोरियाले बुधबार उत्तर कोरियालाई जिम्मेवार ठहराउँदै घटनाप्रति माफी माग्न आग्रह गरेको थियो । 

दक्षिण कोरियाली सेनाले उक्त घटनालाई दुई कोरियाबिच भएको युद्धविराम सम्झौताको ‘स्पष्ट उल्लङ्घन’ भनेको छ । विस्फोटमा तीन दक्षिण कोरियाली सैनिक गम्भीर घाइते भएका थिए । तर उत्तर कोरियाली नेता किम जोङ-उनकी बहिनी किम यो-जोङले विस्फोटमा आफ्नो देशको संलग्नता अस्वीकार गर्नुभएको छ । 

उहाँले दक्षिण कोरियाले घटनाबारे गरेको अनुसन्धानको निष्कर्षलाई गलत र तथ्यहीन भएको आरोप लगाउनुभयो । दुई कोरियाबिच लामो समयदेखि राजनीतिक तथा सैन्य तनाव कायम रहँदै आएको अवस्थामा दक्षिण कोरियाली राष्ट्रपतिको वार्ता र विश्वास पुनःस्थापनाको आह्वान आएको हो । (रासस/क्युएनए)

तपाईको प्रतिक्रिया