होर्मुज जलडमरूमध्य खोल्न इरान आफ्ना सर्तमा अडिग

  १ घण्टा अगाडि

तेहरान, ११ असोज : मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरे पनि इरानले आफ्ना सर्तहरू पूरा नभएसम्म जलडमरूमध्य नखोल्ने अडान दोहोर्‍याएको छ ।

विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य अहिले संयुक्त राज्य अमेरिका र इरानबीचको द्वन्द्वको मुख्य केन्द्र बनेको छ । करिब सात महिनाअघि इरानमाथि भएको घातक सैन्य आक्रमणपछि यो द्वन्द्व थप चर्किएको हो ।

इरानी विदेशमन्त्री अब्बास अराघ्चीका अनुसार इरानको प्रस्तावमा लेबनानसहित सम्पूर्ण मध्यपूर्वमा जारी सबै सैन्य गतिविधि अन्त्य गर्नुपर्ने र केही महिनाअघि असफल भएको युद्धविराम सम्झौताका सर्तहरू कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

उक्त सम्झौतामा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने, इरानी तेलमाथिका प्रतिबन्ध हटाउने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्ने विषय समावेश थिए ।

अराघ्चीले आइतबार इरानका सर्तहरू स्पष्ट रहेको र ती पूरा भएपछि मात्र होर्मुज जलडमरूमध्य खोल्ने प्रक्रिया अघि बढ्ने बताउनुभयो । उहाँले इरान कूटनीति र वार्ताबाट कहिल्यै पछि नहटेको, तर आफ्ना अधिकारबाट पनि पछि नहट्ने बताउनुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार युद्धविरामसम्बन्धी प्रस्ताव अस्वीकार गरेको बताउनुभएको थियो । उहाँका अनुसार इरानले जलडमरूमध्य तत्काल खोल्नुपर्ने अवस्थाका कारण सम्झौता गर्न चाहेको हो ।

अराघ्चीका अनुसार अमेरिकी राष्ट्रपतिको प्रारम्भिक प्रतिक्रिया इरानले थाहा पाए पनि मध्यस्थकर्तामार्फत हालसम्म अमेरिकाको औपचारिक धारणा प्राप्त भएको छैन । उहाँले मध्यस्थकर्ताबाट अन्तिम धारणा प्राप्त भएपछि त्यसका आधारमा निर्णय गरिने बताउनुभयो ।

सात दिनमा जलडमरूमध्य खोल्न सकिने इरानको दाबी
संयुक्त राज्य अमेरिका र इरानले जुन महिनामा युद्ध अन्त्य गर्ने, होर्मुज जलडमरूमध्य खोल्ने र इरानको आणविक कार्यक्रमबारे वार्ता सुरु गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । तर केही समयपछि उक्त समझदारी भंग भएको थियो ।

इरानले स्वीकृत मार्गबाट विचलित भएको आरोप लगाउँदै होर्मुज हुँदै जाने व्यावसायिक पानीजहाजमाथि कारबाही गरेपछि तनाव थप बढेको थियो ।

इरानले सुरक्षा र आफ्नो सार्वभौमिकताको कारण देखाउँदै जलडमरूमध्यबाट आवतजावत गर्ने पानीजहाजले अनुमति लिनुपर्ने बताउँदै आएको छ । अनुमति पालना नगर्ने पानीजहाजमाथि नियमित रूपमा कारबाही हुने गरेको छ भने संयुक्त राज्य अमेरिकाले पनि त्यसको जवाफमा इरानी तटीय क्षेत्रमा समय–समयमा हवाई आक्रमण गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघमा साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानले होर्मुज र बाब अल–मन्दबजस्ता महत्वपूर्ण जलमार्ग खुला राख्ने आफ्नो जिम्मेवारी पूरा गर्न अन्तर्राष्ट्रिय समुदाय असफल भएको आरोप लगाउनुभयो ।

उहाँले कुनै पनि पक्षले यी महत्वपूर्ण जलमार्गलाई दबाब, धम्की वा अन्य देशको हितमा क्षति पुर्‍याउने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताउनुभयो । उहाँका अनुसार यी जलमार्ग विश्वव्यापी ऊर्जा सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण छन् ।

रुसका विदेशमन्त्री सर्गेई लाभरोभले पनि आफ्नो देश अन्य जिम्मेवार राष्ट्रसँग मिलेर रणनीतिक रूपमा महत्वपूर्ण यस क्षेत्रमा स्थायित्व कायम गर्न रचनात्मक योगदान दिन तयार रहेको बताउनुभएको छ ।

यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघका महासचिव अन्तोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ । उहाँले इरान वार्ताको टेबलबाट पछि नहटेको तर विगतका अनुभवका कारण संयुक्त राज्य अमेरिकामाथि विश्वास गर्न नसकेको बताउनुभयो ।

अराघ्चीका अनुसार इरानले कतारमार्फत संयुक्त राज्य अमेरिकासमक्ष सात दिनको ठोस योजना प्रस्तुत गरेको छ । आवश्यक सर्त पूरा भएमा सात दिनभित्र होर्मुज जलडमरूमध्य पुनः खोल्न र सामान्य समुद्री आवतजावत सुरु गर्न सकिने इरानको भनाइ छ ।

उहाँले अब निर्णय गर्ने जिम्मेवारी संयुक्त राज्य अमेरिकाको रहेको बताउँदै इरानले दबाब, धम्की वा डर देखाउने कार्य स्वीकार नगर्ने र दबाबमा आफ्नो सार्वभौम अधिकार त्याग नगर्ने स्पष्ट पार्नुभयो ।

इरानी क्रान्तिकारी रक्षक दलका प्रवक्ता होसेन मोहेबीले इरानका सातवटै सर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकाविरुद्धको कारबाही नरोकिने बताउनुभयो ।

मोहेबीले यसअघि मंगलबार दिएको अन्तर्वार्तामा यमनमा जारी सैन्य गतिविधि अन्त्य गर्नु पनि तेहरानको मागमध्ये एक रहेको बताउनुभएको थियो । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया