म्याड्रिड, १० असोज : झुक्याएर पाकिस्तान लगिएकी र आफ्नै नातेदार युवक (कजिन) सँग जबरजस्ती विवाह गर्न बाध्य पारिएकी एक महिलाको उद्धार गरी स्पेन फर्काइएको छ । घटनामा संलग्न भएको आरोपमा स्पेनमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले शनिबार जनाएको छ ।
क्याटालोनियाको क्षेत्रीय प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार जबरजस्ती विवाह गराउने उद्देश्यले मानव बेचबिखन गरेको आशङ्कामा ४१ र ४५ वर्षीय दुई पुरुषलाई जुलाई २१ मा बार्सिलोना विमानस्थलबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार बार्सिलोनामा कम्प्युटर पसल सञ्चालन गर्ने एक पाकिस्तानी नागरिकसँगको प्रेम सम्बन्धप्रति परिवारले स्वीकार गरेको भन्दै आफन्तहरूले ती महिलालाई सेप्टेम्बर २०२५ मा पाकिस्तान जान राजी गराएका थिए । तर पाकिस्तान पुगेपछि उनका आफन्तहरूले स्पेनिस राहदानी खोसेर उनलाई घरभित्रै नियन्त्रणमा राखेको र उनको इच्छाविपरीत कजिनसँग विवाह गराइदिएको आरोप छ ।
महिलाका प्रेमीले अप्रिलमा प्रहरीलाई जानकारी गराउँदै उनलाई परिवारका सदस्यहरूले जबरजस्ती पाकिस्तान लगेको बताएका थिए । यसअघि उक्त घटनासँग सम्बन्धित दुई व्यक्तिले ती प्रेमीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमणसमेत गरेको प्रहरीले जनाएको छ ।
स्पेनिस प्रहरीले पाकिस्तानस्थित स्पेनको दूतावाससँगको सहकार्यमा ती महिलाको अवस्थाबारे जानकारी सङ्कलन गरी उनको उद्धार गरेको थियो । त्यसपछि उनलाई सुरक्षित रूपमा स्पेन फर्काइएको र आवश्यक मनोसामाजिक तथा अन्य सहयोग उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।
प्रहरीले जबरजस्ती विवाह तथा प्रेमीमाथिको आक्रमणमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान जारी राखेको जनाएको छ ।
बार्सिलोनामा पाकिस्तानी समुदायको उल्लेखनीय बसोबास रहेको छ । त्यहाँ २६ हजारभन्दा बढी पाकिस्तानी नागरिक दर्ता छन्, जसका आधारमा उनीहरू इटालियन र कोलम्बियन समुदायपछि तेस्रो ठूलो विदेशी नागरिक समूहका रूपमा रहेका छन् । (रासस/एएफपी)






