घरबासले फेरिँदै दगामको पर्यटन पहिचान

  १२ घण्टा अगाडि

दमौली (तनहुँ), १० असोज : शुक्लागण्डकी–२ स्थित दगाम गाउँ मगर समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली, स्थानीय परिकार र आत्मीय आतिथ्यका कारण ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित भएको छ ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले दगामलाई ‘गन्तव्य गाउँ’ का रूपमा सिफारिस गरेपछि आन्तरिक पर्यटकको रोजाइमा दगाम परेको हो । भिटोफले हरेक वर्ष तीनवटा गाउँलाई गन्तव्य गाउँका रूपमा सिफारिस गर्दै आएको छ ।

‘हरेक गाउँ पर्यटकीय ठाउँ’ अभियानअन्तर्गत गाउँलाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको भिटोफ गण्डकीका अध्यक्ष रमेश अर्यालले बताउनुभयो । दगामका २३ घरमध्ये २० घर मगर र तीन घर गुरुङ समुदायका छन् । मगर समुदायको मौलिक वेशभूषा, संस्कार, संस्कृति र परम्परागत जीवनशैली यहाँका प्रमुख आकर्षण हुन् ।

विसं २०६५ मा सिरुबारी गाउँको अवलोकन गरेपछि स्थानीयको पहलमा दगाम सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको थियो । हाल पोखरासहित भैरहवा, बुटवल, नारायणगढ र काठमाडौँबाट पर्यटक दगाम पुग्ने गरेका छन् ।

होमस्टे संयोजक नन्द थापाका अनुसार दगामबाट चारैतिरका डाँडासँगै हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । एउटै स्थानबाट धौलागिरि हिमालका विभिन्न चुचुरादेखि गणेश हिमालसम्म देखिने उहाँले बताउनुभयो ।

पाहुनालाई कोदो, मकै, पिँडालु र सिस्नुलगायत स्थानीय उत्पादनबाट तयार पारिएका परिकार तथा गाउँमै उत्पादित मह खुवाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले दगाम होमस्टेलाई राष्ट्रिय तथा प्रादेशिक प्राथमिकतामा राखेर विकास भइरहेको बताउनुभयो ।

यसैबीच, विश्व पर्यटन दिवसका अवसरमा भिटोफ गण्डकीले दगाममा घरबास प्रवर्द्धन कार्यक्रम आयोजना गरेको राससले जनाएको छ ।
राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया