कजाकिस्तानमा नौसैनिक अभ्यासमा १४ जनाको मृत्यु

  ४ घण्टा अगाडि

अल्माटी (कजाकिस्तान), ९ असोज : कजाकिस्तानको कास्पियन सागरको तटीय क्षेत्रमा नौसैनिक अभ्यासका क्रममा भएको दुर्घटनामा १४ सैनिकको मृत्यु भएको छ । कजाख रक्षा मन्त्रालयले शुक्रबार थप दुई शव फेला पारेपछि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको जनाएको छ ।

पश्चिमी मङ्गिस्टाउ क्षेत्रमा बिहीबार लडाइँ प्रशिक्षण अभ्यास भइरहेका बेला मौसम अचानक बिग्रिएपछि १७ जना सैनिक समुद्रमा खसेका थिए । तीमध्ये तीन जनालाई उद्धार गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार टेलिग्राममार्फत खोज तथा उद्धार अभियान सम्पन्न भएको जानकारी दिँदै दुर्घटनामा १४ सैनिकको ज्यान गएको पुष्टि गरेको हो । यसअघि अधिकारीहरूले १२ जनाको मृत्यु भएको बताएका थिए ।

कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेभले दुर्घटनाको कारण र परिस्थितिबारे छानबिन गर्न सरकारी आयोग गठन गर्न आदेश दिनुभएको छ । घटनाबारे आपराधिक अनुसन्धानसमेत सुरु गरिएको छ ।

राष्ट्रपति टोकायेभले शुक्रबारलाई राष्ट्रिय शोकको दिन घोषणा गर्नुभएको छ । दुर्घटनापछि खोज तथा उद्धार कार्यमा संलग्न निकायले समुद्रमा बेपत्ता भएका सैनिकहरूको खोजीलाई प्राथमिकता दिएका थिए । मौसम प्रतिकूल बनेपछि अभ्यासका क्रममा सैनिकहरू समुद्रमा खसेको प्रारम्भिक विवरणमा जनाइएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया