विशेष संसदीय समितिमा राष्ट्रियसभाको प्रतिनिधित्व हुनुपर्ने माग

  १ घण्टा अगाडि

काठमाडौँ, ८ असोज : नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले भोटेकोशी बाढी विपद्को व्यवस्थापनका लागि प्रतिनिधिसभाबाट गठन भएको विशेष संसदीय समितिमा राष्ट्रियसभाबाट प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उहाँले मुलुकमा जनताले अपेक्षा गरेअनुसार सुशासन कायम नभएको र भ्रष्टाचार नियन्त्रण नभएको टिप्पणी गर्नुभयो । साथै उहाँले प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जानु सकारात्मक भएको र मुलुकका हितमा विषय राख्नुपर्ने सुझाव दिनुभयो ।

सांसद विष्टले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण भएको तर्क गर्दै जलवायुका न्यायका लागि प्रधानमन्त्री शाहले महासभामा प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भोटेकोशी प्रभावितका लागि प्रभावकारी रूपमा राहत र पुनःस्थापना गर्न माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले नेपालमा जम्मा दुई हजार ७० हिमताल गणना गरिएको र त्यसमध्ये २१ हिमताल खतरामा रहेको बताउनुभयो । साथै उहाँले सन् १९८५ देखि प्रमुख हिमबाढी र हिमताल विष्फोटनका सात ठूला घटना भएको उल्लेख गर्दै भोटेकोशी हिमबाढीले हिमालय क्षेत्रमा देखिने नयाँ खतराको बारेमा बहस गर्नुुपर्नेमा जोड दिनुभयो ।

“हिमनदी चट्टानसहित तल्लो तटीय क्षेत्रमा झर्दा अझ खतरा भन्ने नयाँ जोखिम देखिएको छ । यसमा नयाँ तरिकाले सोच्नुपर्छ र अध्ययन गर्नुपर्छ”, उहाँले भन्नुभयो । सांसद शेर्पाले नेपालले आगामी दिनमा पर्वतीय विषयलाई अन्तरराष्ट्रिय रूपमा प्रभावकारी रूपमा उठाउनुपर्ने सुझाव दिनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद पूजा चौधरीले त्रिपुरेश्वर चोकमा एकजना व्यक्तिले आत्मदाह गरेको विषयले राज्यप्रतिको विश्वासमा प्रश्न उठाएको उल्लेख गर्दै यो विषय आर्थिक र मानसिक समस्यासँग जोडिएको बताउनुभयो । साथै उहाँले आगामी दिनमा यस्ता घटना हुन नदिनमा सरोकारवाला निकायले प्रणालीगत सुधारका ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद चौधरीले भोटकोशी बाढी विपद्मा खोज र राहतलाई प्रभावकारी बनाउन गठन गरिएको संसदीय समितिमा राष्ट्रियसभालाई नसमेटिएको उल्लेख गर्दै राष्ट्रियसभाबाट छुट्टै समिति गठन गर्न माग गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद धर्मेन्द्र पासवानले पनि भोटेकोशी बाढी विपद्मा खोज र राहतलाई प्रभावकारी बनाउन गठन भएको संसदीय समितिमा दुवै सदनको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले राहत र पुनःस्थापना प्रभावकारी बनाउन तथा चाडपर्व अघि नै सडक पूर्वाधार सुचारु हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद रोशनी मेचेले त्रिपुरेश्वर चोकमा केही दिन अघि एकजना व्यक्तिले आत्मदाह गरेको विषयका सम्बन्धमा सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद जगतबहादुर पार्कीले वर्तमान सरकारले निर्वाचनका बेला जनतासँग गरेको वाचा कार्यान्वयन गर्न माग गर्नुभयो । साथै उहाँले मुलुकको हितमा काम गर्न कूटनीतिलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारलाई सुझाव दिनुभएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया