भक्तपुर, ७ असोज : परम्परागत इन्द्रजात्रा आजदेखि यहाँ सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ ।
संस्कृतिकर्मी सोमनाथ जोशीका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो ।
पारिजात खोज्ने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरूले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गरे । जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच भएको युद्धमा देवताको जित भएको खुसीयालीमा इन्द्रजात्रा मनाउन थालिएको आएको किंवदन्ती रहेको उहाँले जानकारी दिनुभयो ।
पूजाआजासहित आज भक्तपुरको इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, इताछेँलगायत टोलमा ‘यम्वो द्यो’ ठड्याइएको छ । यो जात्रा भक्तपुरमा आठ दिनसम्म मनाइने राससले जनाएको छ ।






