आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

  २ घण्टा अगाडि

मनिला, ४ असोज : दक्षिणपूर्वी एसियाली राष्ट्रको संगठन (आसियान)का सदस्य राष्ट्रका आर्थिक मन्त्रीहरु क्षेत्रीय आर्थिक सहकार्यलाई थप सुदृढ गर्ने उद्देश्यसहित फिलिपिन्समा भेला भएका छन् । फिलिपिन्सको मेट्रो मनिलास्थित पासे सिटीमा शनिबार ५८ औँ आसियान आर्थिक मन्त्रीस्तरीय बैठक तथा सम्बन्धित बैठकहरू सुरु भएका हुन् । 

बैठक आगामी मंगलबारसम्म सञ्चालन हुने जनाइएको छ । बैठकमा आसियान क्षेत्रको व्यापार तथा लगानी विस्तार, डिजिटल अर्थतन्त्रको विकास, सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) को प्रवद्र्धन, नवप्रवर्तन तथा दिगो आर्थिक वृद्धिलगायतका विषयमा विस्तृत छलफल भइरहेको छ ।

व्यापार र लगानी विस्तारमा जोड

बैठकको प्रमुख एजेन्डामध्ये आसियान क्षेत्रभित्र व्यापार र लगानीलाई थप सहज तथा प्रभावकारी बनाउने विषय रहेको छ । विश्व अर्थतन्त्रमा देखिएका परिवर्तनका बिच सदस्य राष्ट्रबिच आर्थिक सम्बन्धलाई बलियो बनाउने र क्षेत्रीय सहकार्यलाई अघि बढाउने विषयमा मन्त्रीहरूले छलफल गरेका छन् ।

फिलिपिन्सका व्यापार सचिव तथा बैठककी अध्यक्ष क्रिस्टिना रोकले बैठकमा क्षेत्रीय आर्थिक सहकार्यसँग सम्बन्धित विभिन्न विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँका अनुसार बैठकबाट तय हुने प्राथमिकता, छलफल र दिशानिर्देशले आगामी नोभेम्बरमा आयोजना हुने ४९औँ आसियान शिखर सम्मेलनमा सदस्य राष्ट्रका नेताबिच हुने छलफललाई समेत आधार प्रदान गर्ने छ ।

डिजिटल रूपान्तरण अर्को प्रमुख विषय

आसियानका आर्थिक मन्त्रीहरूले क्षेत्रको तीव्र गतिमा भइरहेको डिजिटल रूपान्तरणलाई पनि बैठकको महत्वपूर्ण विषयकारूपमा अघि सारेका छन् । डिजिटल प्रविधिको विस्तारसँगै व्यापार, सेवा, लगानी र उद्यम सञ्चालनका स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा सदस्य राष्ट्रबिच डिजिटल अर्थतन्त्र सम्बन्धी सहकार्य बढाउने विषयमा छलफल भइरहेको छ । डिजिटल प्रविधिको उपयोगमार्फत क्षेत्रीय आर्थिक गतिविधिलाई थप प्रभावकारी बनाउने तथा नयाँ आर्थिक अवसर सिर्जना गर्ने विषय बैठकका एजेन्डामा समेटिएको छ ।

साना तथा मझौला उद्यमको विकासमा पनि प्राथमिकता

आसियान अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) को विकासलाई पनि बैठकले प्राथमिकतामा राखेको छ । यस्ता व्यवसायलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सहयोग गर्ने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र बदलिँदो आर्थिक वातावरणमा प्रतिस्पर्धात्मक क्षमता बढाउने विषयमा सदस्य राष्ट्रबिच सहकार्य आवश्यक रहेको बैठकको प्रमुख सरोकारका रूपमा देखिएको छ ।

नवप्रवर्तन र दिगो आर्थिक वृद्धिबारे छलफल

बैठकमा नवप्रवर्तन तथा दिगो आर्थिक वृद्धिका विषय पनि समेटिएका छन् । क्षेत्रीय अर्थतन्त्रलाई दीर्घकालीन रूपमा बलियो बनाउन नयाँ प्रविधि, उद्यमशीलता र दिगो विकाससँग सम्बन्धित आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने विषयमा मन्त्रीहरूले छलफल गरिरहेका छन् ।

आसियानले क्षेत्रीय आर्थिक एकीकरणलाई अघि बढाउँदै सदस्य राष्ट्रबिच व्यापार तथा लगानीको वातावरण थप सुदृढ गर्ने प्रयास गरिरहेको अवस्थामा यस बैठकलाई महत्वपूर्ण मानिएको छ ।

विश्व तथा क्षेत्रीय आर्थिक अवस्थाप्रति सामूहिक प्रतिक्रिया

आसियानका महासचिव काओ किम होर्नले आर्थिक मन्त्रीहरूको बैठकले बदलिँदो विश्व तथा क्षेत्रीय आर्थिक परिस्थितिप्रति सामूहिक प्रतिक्रिया बलियो बनाउने आसियानको प्रतिबद्धता पुनः पुष्टि गरेको बताउनुभयो । विश्व अर्थतन्त्र विभिन्न भूराजनीतिक तथा क्षेत्रीय घटना क्रमबाट प्रभावित भइरहेका बेला आसियान सदस्य राष्ट्रले साझा आर्थिक हितका विषयमा समन्वय बढाउनुपर्ने आवश्यकता रहेको बैठकमा जोड दिइएको छ ।

मध्यपूर्व संकटको प्रभाव पनि छलफलमा

बैठकमा मध्यपूर्वमा विकसित संकटले आसियान क्षेत्रको अर्थतन्त्रमा पार्न सक्ने तथा पारिरहेको प्रभावबारे समेत छलफल भएको काओले बताउनुभयो । मध्यपूर्वमा उत्पन्न संकटले विश्वव्यापी आर्थिक वातावरण, व्यापार तथा क्षेत्रीय आर्थिक गतिविधिमा प्रभाव पार्न सक्ने भएकाले त्यसप्रति आसियानको सामूहिक दृष्टिकोण र प्रतिक्रियाबारे आर्थिक मन्त्रीहरूले विचार आदानप्रदान गरेका छन् ।

नोभेम्बरको आसियान शिखर सम्मेलनका लागि आधार

चार दिनसम्म चल्ने आर्थिक मन्त्रीस्तरीय बैठकबाट भएका छलफल र सहमतिले आगामी नोभेम्बरमा हुने ४९औँ आसियान शिखर सम्मेलनका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ । आर्थिक मन्त्रीहरूले क्षेत्रीय व्यापार, लगानी, डिजिटल अर्थतन्त्र, एमएसएमई, नवप्रवर्तन तथा दिगो वृद्धिजस्ता विषयमा अघि सारेका प्राथमिकताले आगामी नेतास्तरीय छलफललाई समेत दिशा दिने छ । 

यस बैठकमार्फत आसियान सदस्य राष्ट्रले बदलिँदो विश्व आर्थिक वातावरणबिच क्षेत्रीय आर्थिक सहकार्य, सामूहिक प्रतिक्रिया र दीर्घकालीन आर्थिक विकासलाई थप मजबुत बनाउने प्रयास गरिरहेका छन् । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया