नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

  २ घण्टा अगाडि

काठमाडौँ, २७ भदौ : बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालमा प्रशस्त पर्यटकीय सम्भावनायुक्त गन्तव्य भएकाले समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकार भएका निकायबीच थप सहकार्य, भरपर्दो सूचना र पहुँचयोग्य पूर्वाधार आवश्यक रहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डमा आयोजित ‘जर्निज विथआउट ब्यारियर्सः सोफी मोर्गन इन नेपाल’ कार्यक्रममा मोर्गनले आफ्नो हालैको नेपाल यात्राका अनुभव सुनाउँदै अपाङ्गता भएका पर्यटकका लागि नेपालका पर्यटनसम्बन्धी अनुभवलाई थप पहुँचयोग्य बनाउन सकिने उपायबारे धारणा राख्नुभयो । उहाँले हालै ‘इम्प्याक्ट एडभेन्चर’सँग काठमाडौँ, पोखरा र उपल्लो मुस्ताङको यात्रा गर्नुभएको थियो ।

साहसिक पर्यटक र ह्विलचेयर प्रयोगकर्ता दुवैका रूपमा गरिएको यस यात्राले यातायात, आवास, पर्यटन अनुभव, पूर्वाधार र आतिथ्य सेवामा पहुँचयोग्यताको अवस्थाबारे प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको मोर्गनले उल्लेख गर्नुभयो । आफ्नो यात्राबारे चर्चा गर्दै मोर्गनले नेपालका मानिसको आत्मियता र यहाँको संस्कृति नेपालको सबैभन्दा ठूलो शक्तिमध्ये एक भएको बताउनुभयो ।

“नेपालमा यस्ता यात्रा सम्भव बनाउने क्षमता छ, जुन अपाङ्गता भएका धेरै व्यक्तिले आफ्नो पहुँचभन्दा बाहिरको कुरा ठानेका हुनसक्छन् । यो यात्राभर मलाई सबैभन्दा बढी प्रभावित गरेको विषय यहाँका मानिसको आत्मियता, सद्भाव र आतिथ्य भाव हो । त्यो भावना नेपालको ठूलो शक्ति हो, यसलाई अझ राम्रो पहुँचयोग्यता, भरपर्दो सूचना र स्पष्ट योजनासहित अघि बढ्ने हो भने नेपालले अपाङ्गता भएका पर्यटकलाई साँच्चिकै असाधारण यात्रा अनुभव प्रदान गर्न सक्छ”, उहाँले भन्नुभयो ।

संवादका क्रममा मोर्गनले पहुँचयोग्य पर्यटनको जिम्मेवारी व्यक्तिगत पर्यटन व्यवसाय वा टुर अपरेटर (भ्रमण प्रबन्धक)को मात्र हुन नसक्ने बताउनुभयो । यसका लागि सरकार, पर्यटन व्यवसायी, निजी क्षेत्र र स्थानीय अपाङ्गता समुदायबीच समन्वय र सामूहिक प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।

“पहुँचयोग्य पर्यटन व्यक्तिगत टुर अपरेटरहरूको मात्र जिम्मेवारी हुन सक्दैन, यसका लागि पर्यटन क्षेत्र, सरकार, व्यवसाय र स्थानीय अपाङ्गता समुदायले मिलेर पहुँचयोग्य पूर्वाधारमा लगानी गर्न, नियमित रूपमा अपाङ्गता सचेतना तालिम सञ्चालन गर्न र संरचनागत अवरोध हटाउन आवश्यक छ । नेपालसँग पहुँचयोग्य पर्यटनलाई एउटा सीमित वा विशिष्ट बजारका रूपमा मात्र नभई पर्यटक, व्यवसाय र समुदाय सबैलाई लाभ पु¥याउन सक्ने समग्र पर्यटन क्षेत्रको अवसरका रूपमा हेर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

मोर्गनले छलफलमा पहुँचयोग्यता भौतिक पूर्वाधारमा मात्र सीमित नहुने विषय उल्लेख गर्नुभएको थियो । “मेरो लागि पहुँचयोग्यता अन्ततः स्वतन्त्रता, आफ्नो निर्णय आफैँ गर्ने अधिकार र छनोटसँग सम्बन्धित छ अर्थात् आफ्नै सर्तमा सहभागी हुन सक्ने क्षमता, सबै भौतिक अवरोध रातारात हटाउन सम्भव नहुन सक्छ । तर स्पष्ट, विस्तृत र इमानदार सूचना उपलब्ध गराउँदा अपाङ्गता भएका पर्यटकले आफूले के अपेक्षा गर्ने भन्ने बुझ्न र आफ्नै निर्णय लिन सक्छन्, कहिलेकाहीँ राम्रो सूचना उपलब्ध गराउनु यात्रालाई थप समावेशी बनाउने सबैभन्दा सरल र प्रभावकारी कदममध्ये एक हुन सक्छ”, उहाँले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले मोर्गनको नेपाल यात्राले विश्वभरका फरक क्षमता भएका पर्यटकहरूलाई प्रेरित गरेको बताउनुभयो । “नेपालको कास्कीमा पहिलो प्रमाणित पहुँचयोग्य गन्तव्यका रूपमा विकास गरिएको छ । बोर्डले यस्ता गन्तव्य पहिचान गर्दै पूर्वाधार निर्माणमा पनि पहल गरिरहेको छ । गन्तव्यको योजनालाई थप समावेशी बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न बोर्ड तयार छ”, उहाँले भन्नुभयो ।

इम्प्याक्ट एडभेन्चरका प्रमुख कार्यकारी अधिकृत पङ्कज प्रधानाङ्गले मोर्गनको नेपाल यात्रा र यस कार्यक्रमको उद्देश्य नेपालको पर्यटन उद्योगलाई थप समावेशी बनाउने विषयमा व्यापक संवाद अघि बढाउनुका साथै साहसिक पर्यटन र पहुँचयोग्यता एकअर्काका विरोधाभासी विषय नभएको सन्देश दिनु रहेको बताउनुभयो ।

गत अगस्त ३० देखि सुरु भएको यात्रा सेप्टेम्बर ११ सम्म काठमाडौँ, पोखरा र उपल्लो मुस्ताङसम्म समेटिएको थियो । यस यात्राले नेपाललाई पहुँचयोग्य तथा समावेशी साहसिक पर्यटनको उदीयमान गन्तव्यका रूपमा अन्तरराष्ट्रियस्तरमा चिनाउन र यससम्बन्धी कथा तथा अनुभव प्रस्तुत गर्नसमेत योगदान पु¥याउने विश्वास गरिएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया