काठमाडौँ, २५ भदौ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपियाँ मौज्दात छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा नौ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपियाँ मौज्दात छ ।
त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ ।
नेपाली रुपियाँ र अमेरिकी डलरको मौज्दात जोड्दा कोषको कुल उपलब्ध रकम १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपियाँ पुगेको कार्यालयले जनाएको छ ।
विवरणअनुसार भदौ २५ गते मात्रै नेपालीतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ रुपियाँ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको छ ।
राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपियाँ निकासा गरिएको राससमा उल्लेख छ ।






