इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

  ११ घण्टा अगाडि

तेल अभिव (इजरायल), २२ भदौ : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको दाबी गर्दै इजरायलले आफ्नो अस्तित्वमाथिको खतरा हटाउन ठूलो सफलता हासिल गरेको बताउनुभएको छ ।

रोश हसानाहको अवसरमा आइतबार आयोजित सरकारी बैठकमा उहाँले संयुक्त राज्य अमेरिकासँग मिलेर इजरायलले इरानको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र क्षमतामाथि प्रहार गरेको बताउनुभयो । इजरायल पहिलेभन्दा बलियो र उसका शत्रुहरू कमजोर बनेको उहाँको दाबी थियो ।

इरानले इजरायलमाथि आक्रमण गर्ने गल्ती गरे त्यसले कल्पना नगरेको ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिँदै नेतान्याहुले इजरायललाई परीक्षण नगर्न आफ्ना विरोधीलाई आग्रह गर्नुभयो । उहाँले इजरायल मध्यपूर्वको सबैभन्दा बलियो महाशक्ति बनेको दाबी गर्नुभयो ।

इजरायली रक्षा बलले गाजा, लेबनान तथा जुडिया र सामरियामा आतङ्कवादीलाई निरन्तर लक्षित गरिरहेको उहाँले बताउनुभयो ।

नेतान्याहुले अझै महत्त्वपूर्ण उद्देश्य पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै इरानी शासनको अन्त्यलाई प्रमुख लक्ष्यका रूपमा प्रस्तुत गर्नुभयो । “इरानको यो शासनको अन्त्य नजिक छ । यो कमजोर छ, आफ्नो अस्तित्वका लागि लडिरहेको छ र निरन्तर कमजोर हुँदै गएको छ”, उहाँले भन्नुभयो ।

उहाँले बाँकी उद्देश्य पूरा गर्न इजरायल दृढ र सक्षम रहेको बताउँदै त्यसबाट मध्यपूर्वको स्वरूप र इजरायली जनताको इतिहास स्थायी रूपमा परिवर्तन हुने दाबी गर्नुभयो । (रासस/एएनआई)

तपाईको प्रतिक्रिया