लाएम चाबाङ, २१ भदौ : नौ महिनासम्म समुद्रमा तैनाथ रहेपछि अमेरिकी विमानवाहक जहाज युएसएस अब्राहम लिङ्कन थाइल्याण्डको पाँच दिने बन्दरगाह भ्रमण सकेर आइतबार प्रस्थान गरेको छ । करिब पाँच हजार अमेरिकी नौ सैनिकसहितको जहाज बुधबार बैङ्ककनजिकैको रिसोर्ट सहर पटायाबाट करिब आधा घण्टाको दूरीमा रहेको लाएम चाबाङ बन्दरगाह पुगेको थियो ।
मध्यपूर्वमा लामो समयको तैनाथीपछि नौसैनिकलाई आराम तथा मनोरञ्जनका लागि थाइल्याण्ड ल्याइएको थियो । एएफपीका पत्रकारले जहाज आइतबार बिहान करिब ११:०० बजे (स्थानीय समय) लाएम चाबाङ बन्दरगाहबाट प्रस्थान गरेको देखेका थिए । नौसैनिकको आगमनलाई ध्यानमा राख्दै पटायामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
उनीहरू आउनु अघि अधिकारीहरूले यौनकर्मीविरुद्ध कारबाहीसमेत गरेका थिए । यद्यपि, स्थानीय मेयरले उक्त कारबाहीलाई अमेरिकी नौसैनिकको भ्रमणसँग प्रत्यक्ष रूपमा जोड्न अस्वीकार गर्नुभएको छ । पटाया प्रहरी प्रमुख अनेक स्राथोङ्युका अनुसार पाँच दिने भ्रमणका क्रममा कुनै ठूलो अप्रिय घटना भएन । उहाँका अनुसार भ्रमणको पहिलो दिन अमेरिकी नौसैनिकबिच भएको सामान्य विवादबाहेक कुनै ठूलो झगडा वा गिरफ्तारी भएको छैन ।
यसअघि बिहीबार बिहान पटायाको प्रसिद्ध ‘वाकिङ स्ट्रिट’ नजिकै मदिरा सेवनपछि भएको विवादमा सङ्लग्न दुई अमेरिकी नौ सैनिकलाई जहाजमै फिर्ता पठाइएको थियो । प्रहरीले उक्त घटनालाई सामान्य झडपका रूपमा वर्णन गरेको थियो । पर्यटनको ‘लो सिजन’ चलिरहेका बेला अमेरिकी नौसैनिकहरूको आगमनले पटायाका व्यवसायीलाई राहत दिएको स्थानीय अधिकारीले बताएका छन् ।
पटायाका मेयर पोरामासे न्गाम्पिचेसका अनुसार अमेरिकी नौसैनिकले भ्रमणका क्रममा करिब १० करोड थाई भाट (लगभग ३० लाख अमेरिकी डलर) खर्च गरेको अनुमान छ । नौ सैनिकले किनमेल, पर्यटकीय स्थलको भ्रमण र अन्य मनोरञ्जनात्मक गतिविधिमा समय बिताएको उनले बताए । साथै, जहाजका लागि टुथपेस्टलगायत विभिन्न दैनिक उपभोग्य सामग्री बिक्रीबाट पनि स्थानीय व्यवसायीले आम्दानी गरेको उनले बताए ।
“उनीहरूले आफ्ना परिवारलाई सम्झिरहेका छन् र परिवारका लागि केही स्मृति चिन्ह किन्न चाहन्छन्”, मेयरले भन्नुभयो । ‘लिङ्कन’को थाइल्याण्ड भ्रमण त्यस्तो समयमा भएको हो, जब जहाजभित्रका जीवनयापनका अवस्थाबारे प्रश्न उठेका थिए । गत महिना अमेरिकी डेमोक्र्याटिक सांसदले जहाजमा खाद्यान्नको अभाव, बिग्रिएको प्लम्बिङ तथा मानसिक स्वास्थ्य सम्बन्धी समस्याको रिपोर्ट सार्वजनिक भएपछि अवस्थाबारे छानबिन गर्न माग गरेका थिए ।
मिडिया रिपोर्टमा लामो तैनाथीका क्रममा केही समयमा नौसैनिक टुथपेस्ट, डिओडोरन्ट र साबुन जस्ता आधारभूत सामग्रीको अभावमा समेत परेको उल्लेख गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जहाजभित्रको अवस्था सम्बन्धी चिन्तालाई अस्वीकार गर्नुभएको थियो । लिङ्कन लामो समय मध्यपूर्वमा तैनाथ रहे पनि पछिल्लो समय त्यहाँ यसको स्थान युएसएस जर्ज वासिङ्टनले लिएको छ । थाइल्याण्डको पाँच दिने भ्रमणपछि लिङ्कन पुनः समुद्री तैनाथीतर्फ अघि बढेको छ । (रासस/एएफपी)






