वासिङटन, २० भदौ : अमेरिकी सेनाले शनिबार ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी)’ सँग सम्बन्धित तीन तेल ट्याङ्करमाथि आक्रमण गरी नष्ट गरेको बताएको छ । यो आक्रमण इरानी सैन्य सङ्गठनले अमेरिकी युद्धपोतमाथि गोलीबारी गरेपछि गरिएको हो ।
“इरानको असफल आक्रमणपछि सेन्टकमले खार्ग टापु नजिकको आईआरजीसीको नेतृत्वमा रहेको कच्चा तेल वाहक एम-टी डाउनी र जास्क नजिकको एम-टी स्टार्क १ लाई नस्ट गरेकोे छ,” अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले एक्समा जारी विज्ञप्तिमा भनेको छ ।
“अमेरिकी बलले ओमानको खाडीमा खाली रहेको कच्चा तेल वाहक एम-टी काइलोलाई पनि पूर्ण रूपमा नष्ट गरेको छ । जहाजको चालक दललाई छाड्न निर्देशनपछि धेरै महत्वपूर्ण स्थानमा प्रहार गरी यसलाई सञ्चालन गर्न अयोग्य बनाएको छ,” विज्ञप्तिमा अगाडी भनिएको छ ।
सेन्टकमले पोस्ट गरेको भिडियोमा प्रोजेक्टाइलले जहाजमाथि प्रहार गरेपछि ठूला आगोका लप्का र बाक्लो धुवाको मुस्लो देखिएको छ ।
निशाना बनाइएका तीन जहाज ‘आईआरजीसी र यसका क्षेत्रीय प्रतिनिधिहरूलाई कोष उपलब्ध गराउने अर्बौं डलरको छायाँ नेटवर्कको हिस्सा’ रहेको बताइएको छ ।
“इरानसँग तिनीहरूको रक्षा गर्ने कुनै साधन छैन,” विज्ञप्तिमा थप भनिएको छ ।
यसैबीच इरानी आक्रमणको प्रतिकारका क्रममा एउटा डिस्ट्रोयर र एयरक्राफ्ट क्यारियरले ‘धेरै अनावश्यक इरानी आक्रमण सफलतापूर्वक टारेको’ र आक्रमणबाट कुनै अमेरिकी सैनिक घाइते नभएको बताइएको छ ।
सेन्टकमका कमाण्डर एडमिरल ब्यार्ड कुपरले भन्नुभयो, “आईआरजीसीलाई सन्देश स्पष्ट होस्, यदि तिमीहरूले हाम्रा दुई जहाजमाथि गोली हान्छौ भने हामी तिमीहरूका तीन जहाज नष्ट गर्ने मात्र नभई अझ उच्च आर्थिक मूल्य तिराउनेछौँ ।”
यी आक्रमणहरू वासिङटनले इरानलाई आर्थिक रूपमा दवाव दिने प्रयास गर्दै आएको बेला भएका हुन्, जसमा यसका बन्दरगाहहरूको नाकाबन्दी पनि समावेश छ भने सैन्य कारबाहीको चेतावनी पनि कायम राखिएको छ ।
इरानले आफ्नो अनुमतिबिना पारवहन गर्ने जहाजलाई धम्की दिएर महत्वपूर्ण हर्मुज जलमार्गमार्फत व्यावसायिक यातायात अवरुद्ध पारेको छ । दुवै पक्षले यस हप्ताको सुरुमै हवाई आक्रमण सुरू गरेका थिए ।
यस अवधिमा भएका ठूला घटनामा अमेरिकाले व्यावसायिक जहाजमाथि आक्रमण गर्ने आईआरजीसीको क्षमतालाई निशाना बनाएको बताएको छ भने इरानले नजिकैको जोर्डनस्थित अमेरिकी सैन्य आधारमाथि आक्रमण गरेको थियो । (रासस/एएफपी)






