बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो

  १ घण्टा अगाडि

काठमाडौँ, १८ भदौ : पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि नेपाल आयल निगमको समन्वयमा आज विभिन्न कम्पनीका २४ हजार ५०० सिलिण्डर बाइरोडको बाटो हुँदै आज काठमाडौँ उपत्यकामा ल्याइएको छ ।

राजमार्ग अवरुद्ध भएर ग्यासका बुलेट काठमाडौँ र धादिङका बोटलिङ प्लान्टसम्म आउन नसकेपछि निगमले एलपी ग्यास उद्योगलाई तराईका उद्योगमा ग्यास सिलण्डर भरी त्रिभुवन राजपथ हुँदै काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले शुक्रबारदेखि नियमित रूपमा सोही बाटो हुँदै थप परिमाणमा सिलिण्डर काठमाडाैँ उपत्यका ल्याइने जानकारी दिनुभयो । बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएपछि पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति प्रभावित भएका जिल्लामा वैकल्पिक मार्ग र विशेष व्यवस्थामार्फत आपूर्ति निरन्तरता दिइएको निगमले स्पष्ट पारेको छ ।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि ती क्षेत्रमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको बिक्रीवितरण प्रभावित हुँदै आएको थियो । यस्तै, भदौ १४ गते त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा कटान गरेपछि पेट्रोलियम पदार्थ ढुवानीमा थप समस्या देखिएको थियो ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा खटिएका हेलिकप्टरका लागि आवश्यक हवाई इन्धन नेपाली सेनाको समन्वयमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट रिफ्युलिङ सेवामार्फत उपलब्ध गराइएको छ । निगमले उक्त सेवा सञ्चालनका लागि हालसम्म एक लाख दुई हजार लिटरभन्दा बढी हवाई इन्धन उपलब्ध गराइसकेको जनाएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा पेट्रोलियम आपूर्ति सहज बनाउन बागमती प्रदेश कार्यालयबाट प्रभावित क्षेत्रमा रहेका पेट्रोल पम्पलाई हालसम्म पेट्रोल एक लाख पाँच हजार लिटर र डिजेल दुई लाख २० हजार लिटर उपलब्ध गराइएको निगमले जनाएको छ । सार्वजनिक बिदाका दिनमा समेत पेट्रोल तथा डिजेलको बिक्री-वितरण निरन्तर हुने राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया