काठमाडौँ, १८ भदौ : रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि अझै चार हजार २१६ जना सम्पर्कविहीन रहेका छन् । बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना रहेका छन् ।
यसैगरी, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाका करिब ८६५ जना सम्पर्कविहीन छन् ।
प्राधिकरणका अनुसार नुवाकोटका एक हजार ५५८, विदेशी नागरिक ५८३ तथा पर्यटकसँग गएका १६४ जना नेपाली पनि सम्पर्कविहीन छन् । जलविद्युत् आयोजनामा कार्यरत करिब ९००, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिइन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह तथा मातहतका कर्मचारी ३२ र निजी विद्यालयका एक शिक्षक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । खोज तथा उद्धारमा नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार २८७ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ जना सुरक्षाकर्मी खटिएका छन् ।
पाँच हजारभन्दा बढीको उपचार
बाढीबाट प्रभावितमध्ये हालसम्म पाँच हजार १३५ जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ । विभिन्न अस्पतालमा ३०१, नेपाली सेनाबाट तीन हजार २०६ र सशस्त्र प्रहरी बल नेपालबाट एक हजार ६२८ जनाले स्वास्थ्य उपचार सेवा पाएका छन् ।
हाल तीन हजार ९४८ जना ‘होल्डिङ सेन्टर’मा राखिएको प्राधिकरणले जनाएको छ । बाढीमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार २५२ पुगेको छ ।
प्राधिकरणका प्रवक्ता महतका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, तनहुँमा ३८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ ।
हवाई उद्धारलाई उच्च प्राथमिकता
दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । सेनाले हालसम्म चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको जनाएको छ ।
खोज तथा उद्धारका क्रममा नेपाली सेनाले हालसम्म ७१५ पटक हवाई उडान गरेको छ । बुधबार मात्रै सेनाले २५ वटा हवाई उडान सञ्चालन गरेको प्राधिकरणले जनाएको छ । निजी क्षेत्रबाट पनि हालसम्म १२९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग पुगेको छ ।
सडक सम्पर्कविच्छेद भएका र दुर्गम क्षेत्रमा हवाई माध्यमबाट उद्धारसँगै राहत सामग्री पुर्याउने काम जारी रहेको प्राधिकरणले जनाएको छ ।
भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि राज्यका सुरक्षा निकाय, स्थानीय तह र विभिन्न सरकारी तथा गैरसरकारी निकाय निरन्तर उद्धार, उपचार र राहत व्यवस्थापनमा सक्रिय छन् ।
अझै चार हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा उद्धारलाई थप तीव्र बनाइएको प्राधिकरणले जनाएको राससमा उल्लेख छ ।






