काठमाडौँ, १६ भदौ : जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीमा नयाँ जलमापन केन्द्र राख्ने सम्भावित स्थानको अध्ययन सुरु गरेको छ ।
महाशाखाका बाढीविद् सौहार्द जोशीले सम्भव भए रसुवागढी, स्याफ्रुबेँसी र बेत्रावती क्षेत्रमा जलमापन केन्द्र राख्ने विषयमा सम्भाव्यता अध्ययनका लागि टोली त्यस क्षेत्रमा पुगिसकेको जानकारी दिनुभयो ।
भोटेकोशी बाढीका कारण यसअघि राखिएको स्वचालित जलमापन केन्द्र बगेपछि नयाँ केन्द्र स्थापनाका लागि सम्भावित स्थान पहिचान गर्न स्थलगत अध्ययन भइरहेको उहाँको भनाइ छ ।
“अहिले सम्भावित स्थानको अध्ययन गरिरहेका छौँ । खोलाको नजिक र सुरक्षित तथा केही उचाइमा गरी दुई वटा जलमापन केन्द्र राख्ने विषयमा छलफल भइरहेको छ”, जोशीले भन्नुभयो ।
उहाँका अनुसार हाल दुई वटा सम्भावित स्थान पहिचान गरी दुवै क्षेत्रको स्थलगत अवस्था हेरिँदैछ । बाढीको जोखिमलाई ध्यानमा राख्दै जलमापन केन्द्र खोलाको सतहभन्दा केही माथि सुरक्षित स्थानमा राख्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।
बाढीविद् जोशीले नयाँ केन्द्रबाट इन्टरनेटमार्फत महाशाखालाई बाढीको अवस्था र जलसतहसम्बन्धी नियमित रूपमा तथ्याङक प्राप्त हुने व्यवस्था मिलाइने जानकारी दिनुभयो ।
बाढीको जोखिम तथा सम्भावित क्षतिको पूर्वानुमान गर्न लामो अवधिको बाढी पुनरावृत्ति सम्भावनालाई समेत ध्यानमा राखेर जलमापन केन्द्र स्थापनाको स्थान छनोट गरिने उहाँले बताउनुभएको राससमा उल्लेख छ ।






