मुस्ताङ, १२ भदौ : जनपूर्णिमाको अर्थात् रक्षाबन्धनको अवसरमा आज मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । मुक्तिनाथ मन्दिरमा जनैपूर्णिमाको शुभदिन पारेर रक्षाबन्धन गर्ने, बत्ती बाल्ने र दर्शन गर्नेको उल्लेख्य उपस्थिति रहेको मुक्तिनाथ विकास समितिले जनाएको छ ।
जनपूर्णिमाको दिन बर्खायामपछि पहिलोपटक दर्शनार्थीको बाक्लो उपस्थिति भएको समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । जनैपूर्णिमा हिन्दू धर्मावलम्बीको बर्खायामपछि पहिलो पर्व भएकाले मुक्तिनाथको दर्शन तथा रक्षाबन्धन गर्न जिल्लास्थित कर्मचारी तथा स्थानीय नागरिकसहित विभिन्न जिल्लाका आगन्तुक यहाँ पुग्नुभएको उहाँले बताउनुभयो ।
मुक्तिनाथ मन्दिरमा आएका दर्शनार्थीले मुक्तिनाथको दर्शन गर्नुका साथै मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीसँग रक्षाबन्धन गरी टीका र प्रसाद ग्रहण गरेका छन् । बौद्धमार्गीले पनि मुक्तिनाथको दर्शन गर्नुका साथै मन्दिर नजिकै रहेको ज्वालामाई गुम्बामा बत्ती बालेर धार्मिक आस्था प्रकट गरेका छन् ।
समितिका व्यवस्थापक भुसालले आज मुस्ताङका साथै छिमेकी जिल्लाका धार्मिक पर्यटक तथा भारतीय दर्शनार्थीले मन्दिर परिसरको दर्शन गरेका बताउनुभयो । आज बिहान मन्दिर परिसर भक्तजनले भरिएको थियो ।
मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्याङ गाउँकी स्थानीय सीता थकालीले जनपूर्णिमाका दिन मुक्तिनाथको दर्शन गरी गुम्बामा बत्ती बाल्न यहाँ आइपुगेको बताउनुभयो । जनैपूर्णिमा शुभदिनमा आज ६० प्रतिशत स्थानीय र ४० प्रतिशत भारतीय तथा बेँसीबाट आएका दर्शनार्थीले मुक्तिनाथको दर्शन गरेका मुक्तिनाथ विकास समितिले जनाएको राससमा उल्लेख छ ।






