प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड सहयोग सङ्कलन

  ५ मिनेट अगाडि

काठमाडौँ, १२ भदौ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा रु एक अर्ब ९१ करोडभन्दा बढी सहयोग रकम सङ्कलन भएको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ः०० बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो ।

विभिन्न १० वाणिज्य बैकहरूमा रहेको खातामा रु एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गर्नुभएको हो । बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन सुरु भएको थियो ।

सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयका रूपमा तोकेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संस्थागततर्फ रु एक करोड वा सोभन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफैँमार्फत स्वीकार गरिरहनुभएको छ ।

यस्तै, व्यक्तिगततर्फको नगद सहयोग रकम दाताहरूले मन्त्रालयमै आएर प्रदान गर्न सक्नुहुनेछ । यससँगै कोषमा बचत रकम रु चार अर्ब नौ करोड ११ लाख ६० हजार पुगेको छ । यसअघि कोषमा रु दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ बचत थियो । बिहीबार छ घण्टा अवधिमा नेपालका निजी क्षेत्रका दाताहरूबाट मन्त्रालयमार्फत रु २७ करोड ३३ लाख सहयोग प्राप्त भएको थियो । यो सहायतामा रकममा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन । राससले जनाएको छ ।
राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया