जी–२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी

  ११ घण्टा अगाडि

वासिङ्टन, १२ भदौ : अमेरिकाले आगामी साता हुने जी–२० बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रहरूलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समकक्षीसँगको द्विपक्षीय भेटवार्तामा समेत यस विषयमा दबाब दिनुहुने अमेरिकी अधिकारीले बताएका छन् ।

जी–२० का अर्थमन्त्री र केन्द्रीय बैङ्कका गभर्नरहरू आगामी सोमबार र मङ्गलबार उत्तरी क्यारोलिनाको एशेभिलमा भेला हुँदैछन् । यस वर्षको पहिलो प्रमुख मन्त्रिस्तरीय बैठकले डिसेम्बरमा फ्लोरिडामा हुने जी–२० नेताहरूको शिखर सम्मेलनका लागि समेत आधार तयार गर्नेछ ।

मध्यपूर्वमा जारी युद्धका कारण इरानमाथि दबाब बढाइरहेको अमेरिकाले बैठकमा प्रतिबन्ध कार्यान्वयनमा सदस्य राष्ट्रहरूको सहयोग खोज्नेछ । बेसेन्टले इरानविरुद्धको अभियानमा सहभागी हुन असफल हुने मुलुकलाई माध्यमिक प्रतिबन्धसहित गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइसक्नुभएको छ ।

तर इरानी तेलको प्रमुख खरिदकर्ता चीनलाई समेत अमेरिकी अभियानमा समेट्नु वासिङ्टनका लागि चुनौतीपूर्ण हुने देखिएको छ । विशेषगरी सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने अपेक्षित शिखर वार्ताअघि यो विषय संवेदनशील बनेको छ ।

यसैबीच, बैठकमा आर्थिक वृद्धि, अतिरिक्त औद्योगिक क्षमता तथा ऊर्जा लगायत महत्त्वपूर्ण स्रोतको भरपर्दो आपूर्ति शृङ्खला निर्माणका विषयमा पनि छलफल हुनेछ । विश्लेषकहरूले अमेरिकाले जलवायु परिवर्तन र विश्व स्वास्थ्यजस्ता विषयभन्दा ऋण, व्यापार, वित्तीय स्थायित्व र बैंकिङ नियमनमा बढी ध्यान दिने अपेक्षा गरेका छन् ।

एटलान्टिक काउन्सिलका अन्तर्राष्ट्रिय अर्थशास्त्र प्रमुख जोश लिप्स्कीले अमेरिकी ऋणको बढ्दो स्तर, ट्रम्प प्रशासनका व्यापक भन्सार शुल्क र अमेरिका–क्यानाडा व्यापार तनावका कारण जी–२० बैठक चुनौतीपूर्ण समयमा हुन लागेको बताउनुभयो । उहाँले अमेरिकी दबाब र प्रतिबन्धका कारण जी–२० सदस्यबीचको सहकार्य कमजोर बन्न सक्ने जोखिमसमेत औँल्याउनुभयो ।

जी–२० मा युरोपेली सङ्घ र अफ्रिकी सङ्घसहित १९ राष्ट्र सहभागी छन् । विश्वव्यापी आर्थिक तथा वित्तीय स्थायित्व प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको समूहमा यस वर्ष दक्षिण अफ्रिकालाई अमेरिकी अध्यक्षताअन्तर्गत बाहिर राखिएको छ भने पोल्यान्डलाई बैठकमा सहभागी गराइएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया