भोटेकोसीमा पुनः बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

  भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : भोटेकोशीमा जलसतह पुनः बढेको छ । लेदोसहित पानीको सतह बढेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले आज सूचना जारी गर्दै भोटेकोशीमा फेरि बाढी आउनसक्ने जनाउँदै भोटेकोशी एवं त्रिशूलीमा उद्धार एवं राहतमा परिचालन भएकालाई सतर्कता अपनाउन आग्रह गरेको राससले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले जोखिम क्षेत्रमा रहेका सबैलाई सर्तकता अपनाउन र तत्काल सुरक्षित स्थानमा जान अनुरोध गर्नुभएको छ । प्राधिकरणले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा ठुलो बाढी आएकै क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको जनाएको छ । 

थप बाढी आउन सक्ने जोखिम रहेकोले भोटेकोशी एवं त्रिशुली नदी किनारमा उद्धार एवं राहतमा खटिनुभएका एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएका सबैलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया