भोटेकोशी बाढी : त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला

  ३ घण्टा अगाडि

गोरखा, ११ भदौ : भोटेकोशी नदीमा बुधबार गएको बाढीपछि गोरखा जिल्लासँग सिमाना जोडिएका क्षेत्रमा हालसम्म ३९ शव फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ती शवहरू फेला पारेको हो ।

त्रिशूलीमा अधिकांश शव शारीरिक रूपमा क्षति भई चिन्न नसकिने अवस्थामा फेला परेका जनाउँदै प्रहरी नायब उपरीक्षक श्रेष्ठले ११ वटा सग्ला शव फेला परेका बताउनुभयो । “हालसम्म फेला परेका ११ वटा सग्ला शव पोखरा पठाएका छौँ । शारीरिक रूपमा क्षति भएका शव गोरखा अस्पतालको शवगृहमा छन्”, उहाँले भन्नुभयो ।

नदी किनारमा अन्य शवको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखाको गण्डकी गाउँपालिका-८ धवादीघाट, वडा नं ६ भुम्लिचोक, गण्डकी-१ बुट्टार, वडा नं ४ ठेउवाटार र वडा नं ७ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारबाट उक्त शव फेला परेका प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया