पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ”

  ३ घण्टा अगाडि

काठमाडौँ, ११ भदौ : रसुवा गएका राससकर्मी कालिका खड्काका श्रीमान् एवं नयाँ पत्रिकामा कार्यरत पत्रकार टेकराज थामी सम्पर्कविहीन हुनुहुन्छ । बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन हुनुभएका थामीको नेपाल र चीन दुवैतर्फ खोजी भइरहेको छ ।

मङ्गलबार रसुवातर्फ लाग्नुभएका थामीको सोही दिन बेलुका फोन सम्पर्क भएको श्रीमती कालिकाले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसयता उहाँसँँग सम्पर्क हुन सकेको छैन । सामाजिक सञ्जालमा विभिन्न कुरा आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा विभिन्न थरीका सन्देश आएका छन् तर हालसम्म उहाँसँग कतैबाट पनि सम्पर्क हुन सकेको छैन ।”

थामी सोमबारदेखि चार दिनका लागि बिदा लिएर त्यसतर्फ जानुभएको थियो । चीनतर्फ पुगेको सूचनाका आधारमा खोजीका लागि चिनियाँ पक्षसँग पनि समन्वय भइरहेको श्रीमती कालिकाले जानकारी दिनुभयो । उहाँका बारेमा विस्तृत विवरण स्थानीय चिनियाँ अधिकारीलाई पठाएर खोजीका लागि आग्रह गरिएको छ ।

श्रीमती कालिकाका अनुसार आफ्ना श्रीमान् केरुङको एक कार्यक्रममा जाने क्रममा रसुवागढी पुग्नुभएको र बुधबार बिहान ८ः२१ बजेसम्म मोबाइल ‘लोकोसन’ देखिनुभएको थियो । त्यसपछि फोन अफ छ । “पत्रकार अन्वेषण अधिकारीको म्यासेजरमा कल गरेकोजस्तो रातो सङ्केत मात्रै देखिएको हो”, कालिकाले भन्नुभयो, “स्पष्ट आधार, सम्पर्क अहिलेसम्म केही प्राप्त भएको छैन ।”

पत्रकार थामीको खोजीलाई तीव्रता दिन उहाँको परिवार तथा नेपाल पत्रकार महासङ्घले सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ । “उहाँको अवस्थाबारे हामी चिन्तित छौँ । सम्बन्धित सबै निकायबाट खोजी तथा उद्धारका लागि पहल होस्”, राससकर्मी कालिका भन्नुहुन्छ, “आफ्ना श्रीमान् टेकराजबारे कुनै जानकारी भए परिवार वा सम्बन्धित निकायलाई जानकारी गराइदिनुहुन अनुरोध छ ।” (रासस)

तपाईको प्रतिक्रिया