युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ

  ३ घण्टा अगाडि

बैङ्कक, १० भदौ : मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत युएसएस अब्राहम लिङ्कन चालक दलको आराम तथा पुनःस्थापनाका लागि थाइल्यान्डतर्फ प्रस्थान गरेको थाई अधिकारीहरूले बुधबार बताएका छन् । लिङ्कनले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीलाई सहयोग गरेको थियो ।

जहाजले पछिल्लो तैनातीमा २५० दिनभन्दा बढी समय निरन्तर समुद्रमा बिताएको थियो । लामो तैनातीका क्रममा चालक दलको मानसिक स्वास्थ्यमा समस्या तथा खाना र सरसफाइका सामग्रीलगायत आवश्यक आपूर्तिको अभाव देखिएको विवरण सार्वजनिक भएपछि यसको तैनातीबारे चिन्ता बढेको थियो ।

रोयल थाई नेभीका अनुसार अमेरिकी क्यारियर स्ट्राइक समूहका तीन जहाज पूर्वी थाइल्यान्डमा छोटो समय रोकिनेछन् । भ्रमणका क्रममा कुनै सैन्य अभ्यास नगरिने बताइएको छ । सुरक्षा कारण देखाउँदै थाई पक्षले जहाजको बन्दरगाह र आगमन मिति भने सार्वजनिक गरेको छैन ।

लामो समयको तैनातीले चालक दलसँगै जहाज र उपकरणमा समेत दबाब बढाउने गर्छ । अमेरिका–इरानबीचको तनाव केही मत्थर भए पनि अमेरिकी नौसेनाले हर्मुज जलघाँटीमा इरानी बन्दरगाहविरुद्ध नाकाबन्दी जारी राखेको छ । युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी प्रशासनले भने स्पष्ट योजना सार्वजनिक गरेको छैन । (रासस/एपी)

तपाईको प्रतिक्रिया