काठमाडौँ, १० भदौ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा रहनुहुने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै रसुवास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकाले अर्को सूचना नआउँदासम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
“रसुवा, धादिङ, नुवाकोट, गोर्खा, चितवन एवं तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा जानु हुन एवं खोज तथा उद्धारको आवश्यकता भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर १००÷१२३४÷१११४ मा सम्पर्क गर्नुहुन अनुरोध छ”, प्राधिकरणले भनेको छ ।
साथै, पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन स्थानीय तह एवं प्रशासनलाई अनुरोध गरिएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा समन्वय, सहयोग र सहजीकरण गर्न, गराउन हुन सम्बन्धित सम्पूर्णमा अपिल समेत गरेको राससले जनाएको छ ।






