भारतमा गहुँ निर्यात खुला

  ५ घण्टा अगाडि

नयाँदिल्ली, ९ भदौ : किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आम्दानी बढाउने उद्देश्यले भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको चार वर्ष पुरानो प्रतिबन्ध हटाएको छ । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले जारी गरेको सूचनाअनुसार गहुँको निर्यात नीति तत्काल लागू हुने गरी ‘प्रतिबन्धित’बाट ‘स्वतन्त्र’मा परिवर्तन भएको छ ।

भारतले सन् २०२२ को मेमा घरेलु आपूर्ति र मूल्य नियन्त्रण गर्ने उद्देश्यले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय देशमा गहुँको पर्याप्त मौज्दात रहेको तथा उत्पादनसमेत बढेकाले किसानलाई थप बजार उपलब्ध गराउने उद्देश्यले निर्यात खुला गरिएको सरकारले जनाएको छ । आधिकारिक तथ्याङ्कअनुसार भारतले सन् २०२५-२६ को बाली वर्ष (जुलाई २०२५-जुन २०२६) मा करिब १२ करोड छ लाख ५० हजार टन गहुँ उत्पादन गरेको छ ।

यो अघिल्लो बाली वर्षको तुलनामा २.३ प्रतिशत बढी हो । खाद्य तथा सार्वजनिक वितरण सचिव सञ्जीव चोपडाले गहुँको घरेलु मूल्य हाल कम रहेकाले निर्यात खुला गर्दा मूल्यमा सुधार आउने र त्यसबाट किसानको आम्दानी बढ्ने बताउनुभयो । उहाँका अनुसार यसले आगामी बाली सिजनमा किसानलाई गहुँको खेती बढाउनसमेत प्रोत्साहित गर्ने छ ।

सरकारले देशमा पर्याप्त गहुँ भण्डारण रहेकाले निर्यात खुला गर्दा घरेलु बजारमा आपूर्तिको समस्या नहुने जनाएको छ । निर्यातमार्फत किसानले थप बजार पाउने र उत्पादनको उचित मूल्य प्राप्त गर्ने अपेक्षा गरिएको छ । साथै, आगामी वर्ष गहुँ उत्पादन बढाउन किसानलाई प्रोत्साहन मिल्ने सरकारको विश्वास छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया