इरान युद्ध नयाँ चरणमा जाने जोनसनको संकेत

  २ घण्टा अगाडि

वासिङ्टन, ८ भदौ : अमेरिकी प्रतिनिधिसभाका अध्यक्ष माइक जोनसनले इरानसँगको जारी द्वन्द्व चाँडै नयाँ चरणमा प्रवेश गर्ने बताउँदै अमेरिकी सहयोगी राष्ट्र पनि त्यसमा सहभागी हुने सङ्केत गर्नुभएको छ । उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा इरानलाई आणविक हतियार विकास गर्नबाट रोकिएको दाबी गर्दै सैन्य अभियानको उद्देश्य पूरा भएको बताउनुभयो ।

फक्स न्युजसँग आइतबारको अन्तर्वार्तामा उहाँले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु विगत पाँच दशकदेखि अमेरिकी प्रशासनको साझा लक्ष्य रहेको र राष्ट्रपति ट्रम्पले त्यो उद्देश्य पूरा गर्नुभएको दाबी गर्नुभयो । इरानसँगको वार्तामा मुख्य चुनौती विश्वासको अभाव रहेको बताउँदै उहाँले ‘वार्ताको टेबलको अर्को छेउमा रहेका इरानीलाई विश्वास गर्न सकिँदैन’ भन्नुभयो ।

जोनसनले इरानमा जारी सैन्य संलग्नताप्रति अमेरिकाभित्र असन्तुष्टि बढे पनि रिपब्लिकन पार्टीले आगामी नोभेम्बर ३ को मध्यावधि निर्वाचनमा प्रतिनिधिसभाको बहुमत कायम राख्ने दाबी गर्नुभयो । उहाँले निर्वाचन अघि द्वन्द्व समाधान भए त्यसले पार्टीलाई थप सहयोग पुग्ने बताउनुभयो । युद्धका कारण ऊर्जा लागत र मुद्रास्फीति बढेको तथा अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालन चार अमेरिकी डलरभन्दा माथि पुगेको विषय पनि राजनीतिक बहसमा आएको छ ।

राष्ट्रपति ट्रम्पका प्रमुख सहयोगी जोनसनले इरानको मुख्य खतरा समाप्त पारिएको दाबी गर्दै ‘हामीले मुख्य खतरा हटाएका छौँ’ भन्नुभयो । आणविक हतियार विकास गर्नबाट इरानलाई रोक्नु सैन्य अभियानको प्रमुख उद्देश्य रहेको उहाँले दोहोर्याउनुभयो । ट्रम्प प्रशासनले इरानविरुद्धको सैन्य कारबाही आणविक क्षमता विकास रोक्न गरिएको बताउँदै आएको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य कारबाही गरेपछि सर्वोच्च नेता अली खामेनीसहित केही वरिष्ठ अधिकारीको मृत्यु भएको थियो । त्यसपछि तेहरानले हर्मुजको जलघाँटी हुँदै समुद्री आवागमन रोक्नुका साथै मध्यपूर्वस्थित अमेरिकी सैन्य प्रतिष्ठानमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

अप्रिलमा प्रारम्भिक युद्धविराम भए पनि क्षेत्रमा तनाव र सीमित सैन्य आदानप्रदान जारी रह्यो । पछिल्ला सातामा सक्रिय युद्ध घटेको भए पनि राष्ट्रपति ट्रम्पले इरानमाथि थप आर्थिक प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ । अमेरिका, इजरायल र इरानबिच अनिश्चित युद्धविराम कायम रहे पनि समुद्री सुरक्षाको जोखिम यथावत् छ ।

इरानी अधिकारीहरूले हर्मुजको जलघाँटीमाथिको नियन्त्रण नछाड्ने अडान राख्दै आएका छन् । उक्त जलमार्गमा अवरोध हुँदा विश्व बजारमा इन्धन तथा प्राकृतिक ग्यासको मूल्य बढेको छ । जोनसनले भने हर्मुजमा तेल ट्याङ्करको आवागमन बढेको रिपोर्टसमेत उल्लेख गर्दै ‘हामी चरणबद्ध रूपमा काम गरिरहेका छौँ’ भन्नुभयो । (रासस/एएनआई)

तपाईको प्रतिक्रिया