तेमाल खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

  ३ घण्टा अगाडि

काभ्रेपलाञ्चोक, ५ भदौ : ११ वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण पूरा हुन सकेन । आयोजना वि.सं. २०७२ असार महिनामा सम्झौता भई वि.सं.२०७८ मङ्सिरमा सक्ने लक्ष्य थियो । काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी छ वर्षमा घरघरमा पुर्याउने लक्ष्य राखिए पनि विविध कारणले हालसम्म निर्माण पूरा हुन नसक्दा स्थानीयवासी निरास भएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले लिफ्टिङ प्रविधिको उक्त आयोजना बजेट अभावका कारण पूरा हुन नसकेको राससलाई बताउनुभयो । तोकिएको मितिमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण आयोजनाको काम लम्बिँदै गएको हो । “ठकेदार कम्पनीले पनि भुक्तानी नपाएको भन्दै गत वर्ष आयोजनाको काम गरेन”, लामाले भन्नुभयो । तेमाल बृहत् खानेपानी आयोजनाको काम ‘कालिका-सिएबी जेभी’ नामक निर्माण कम्पनीले ठेक्का लिएको थियो ।

खानेपानी मन्त्रालयबाट गत आर्थिक वर्षमा करिब पाँच करोड भुक्तानी नपाएको जनाउँदै कम्पनीले निर्माणको काममा आलटाल गरेको लामाको भनाइ छ । उहाँका अनुसार भुक्तानी नपाएपछि आयोजनाका जिम्मेवार व्यक्तिले सम्पन्न गर्नेतर्फ आलटाल गर्दा समय लम्बिएको हो । तेमालको वडा नम्बर ५, २ र ९ मा सडकलगायत भौतिक पूर्वाधार निर्माण गर्दा क्षति पुगेको छ भने मुख्य मुहान क्षेत्रमा पानीको स्रोत संरक्षणको काम भइरहेको छ ।

वि.सं.२०८१ असोजको बाढी पहिरोले आयोजनालाई क्षति पुर्याएपछि अधिकांश स्थानका पाइपलाइन, बिजुलीको ट्रान्सफर्मर तथा खम्बा पुनः निर्माणको काम बाँकी रहेको छ । आयोजनालाई कोरोना, सुनकोसीको बाढीले मुहानमा क्षति पुर्याउँदा आयोजना करिब एक वर्ष लम्बिएको हो । हाल करिब ९९ प्रतिशत काम सकिएपनि क्षतिग्रस्त संरचना पुनः निर्माणको चरणमै रहेको लामाले बताउनुभयो ।

उहाँका अनुसार मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको छ भने तीन हजार उपभोक्तालाई घरमा पानी पुर्याइसकिएको छ । उहाँका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मेनलाइन र शाखा लाइनमा पाइप विछ्याउने तथा घरघरमा धाराका सामग्री वितरण कार्य भइरहेको छ ।

साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा पानी परीक्षण भइसकेको छ । उक्त आयोजनाले नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालीमाटीका करिब ९०० घर तथा रोशी गाउँपालिका–७ कटुञ्जेस्थित ११० घरपरिवार समेटिएका छन् । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन निर्माण थालिएको हो ।

पाइपको मेनलाइन अन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो खनेर विछ्याउनुपर्ने सम्झौता अनुसार काम भएको छ । आयोजनाका लागि पाँच करोड बराबरको जनश्रमदान भएको लामाले बताउनुभयो । याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ । आयोजनाको छुट भएका केही निर्माणको काम गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट २०८१ पुसमा १० करोड ३४ लाख ४१ हजार उपलब्ध भएपछि थप निर्माणको काम भएको थियो ।

हाल आयोजना सम्पन्न गरेर औपचारिक रुपमा हस्तान्तरण गर्न आयोजना तथा ठेकेदारले बेवास्ता गरेको स्थानीयको आरोप छ । आयोजना सम्पन्न गर्न अझै ४६ करोड लाग्ने अनुमान गरिएको छ । लिफ्टिङ प्रविधिको उक्त आयोजनाको मुहान सुनकोशी नदीकिनारमा छ ।

वि.सं.२०८१ असोजको वर्षको बाढीपहिरोले आयोजनाको ६० लाखभन्दा बढी क्षति पुर्याएको थियो भने करोडौँका संरचनालाई जोखिम पुर्याएको थियो । तेमाल क्षेत्र अन्तर्गत तेमाल गाउँपालकाको नौ वटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको सात नम्बर वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् ।

नेपाल सरकार, खानेपानी विभागमार्फत एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजना मध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना भने बनिसकेका राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया