वार्ता आत्मसमर्पण होइन : पेजेस्कियान

  ३ घण्टा अगाडि

तेहरान, ४ भदौ : इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँगको वार्ता आत्मसमर्पण नभएको बताउँदै राष्ट्रिय अखण्डता र हितको रक्षा गर्दै वार्ता अघि बढाइने बताउनुभएको छ ।

तेहरानमा आयोजित सम्मेलनमा उहाँले इरानले विवेक र गरिमा कायम राख्दै वार्तालाई चरणबद्ध रूपमा अघि बढाउने बताउनुभयो । उहाँका अनुसार युद्ध अन्त्य गर्नु, इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउनु, रोक्का गरिएका सम्पत्ति फुकुवा गर्नु र त्यसपछि आणविक विषयमा वार्ता गर्नु इरानका प्रमुख प्राथमिकता हुन् ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता रोक्न प्रशासनका प्रमुख दूतलाई निर्देशन दिनुभएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । त्यसको केही घण्टापछि ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा गर्नुभएको थियो । तेहरान र वासिङ्टनबिच जुन १८ मा युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको समझदारी अनुसारको ६० दिने वार्ता अवधि सोमबार सकिएपछि आगामी वार्ता प्रक्रिया अनिश्चित बनेको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया