प्यालेस्टिनी नागरिकको सुरक्षाका लागि राष्ट्रसङ्घको आह्वान

  १ घण्टा अगाडि

न्युयोर्क, २ भदौ : संयुक्त राष्ट्रसङ्घले इजरायल-प्यालेस्टाइन द्वन्द्वका क्रममा प्यालेस्टिनी नागरिकको सुरक्षा, घर तथा सम्पत्तिको संरक्षण र अत्यावश्यक सेवामा उनीहरूको पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ । वेस्ट ब्याङ्कमा बढ्दो तनाव तथा आक्रमण र गाजा पट्टीमा जारी इजरायली हवाई आक्रमण, गोलाबारी र गोली हानाहानबिच राष्ट्रसङ्घले नागरिकको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले मानवीय सहयोगमा संलग्न टोलीले उत्तरी वेस्ट ब्याङ्कको कुसरा गाउँमा पुगेर प्रभावित परिवारलाई सहयोग उपलब्ध गराएको बताउनुभयो । इजरायली बस्तीको चौकी स्थापना भएपछि तथा कडा आवागमन प्रतिबन्ध लगाइएपछि केही प्यालेस्टिनी परिवार आफ्नै घर वरपर फसेको उहाँले बताउनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)को टोलीले प्रभावित परिवारलाई पानी, खाद्यान्न, औषधि र सरसफाइका सामग्री उपलब्ध गराउनुका साथै बालबालिकाका लागि मनोरञ्जनात्मक सामग्रीसमेत वितरण गरेको डुजारिकले बताउनुभयो । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएइचए) का अनुसार कुसरा गाउँमा तीन प्यालेस्टिनी परिवार इजरायली सेना तथा बस्तीका बासिन्दाको ठूलो उपस्थितिबाट घेरिएको अवस्थामा रहेको डुजारिकले जानकारी दिनुभयो ।

गाजा पट्टीमा पनि नागरिकको अवस्था गम्भीर बन्दै गएको राष्ट्रसङ्घले जनाएको छ । त्यहाँ निरन्तर भइरहेको हवाई आक्रमण, गोलाबारी तथा गोली हानाहानका कारण नागरिक हताहत भएको विवरणप्रति राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । वर्षायाम नजिकिँदै गर्दा गाजामा आश्रय सामग्रीको अभाव थप गम्भीर बन्न सक्ने चेतावनीसमेत दिइएको छ । राष्ट्रसङ्घ र उसका साझेदारले करिब ३० हजारभन्दा कम पालको व्यवस्था गर्न सकेका छन् । 

यद्यपि आवश्यक पालको सङ्ख्या ८० हजारदेखि एक लाख ३० हजारसम्म अनुमान गरिएको छ । गाजा र वेस्ट ब्याङ्कमा मानवीय सहायता उपलब्ध गराउन यस वर्ष आवश्यक पर्ने अनुमानित चार अर्ब अमेरिकी डलर मध्ये ४० प्रतिशतभन्दा कम रकम मात्र हालसम्म जुटेको डुजारिकले पुष्टि गर्नुभयो । आवश्यक रकमको अभावले द्वन्द्वबाट प्रभावित नागरिकलाई खाद्यान्न, स्वास्थ्य, आश्रय र अन्य अत्यावश्यक सेवा उपलब्ध गराउने प्रयासमा थप चुनौती उत्पन्न भएको राष्ट्रसङ्घले जनाएको छ । (रासस/क्युएनए)

तपाईको प्रतिक्रिया