सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

  २ घण्टा अगाडि

काठमाडौँ, २ भदौ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेख्य रूपमा बढाएको छ । नेपाल टेलिकमको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वैशाखदेखि असार मसान्तसम्ममा मात्र चार अर्ब २० करोड २४ लाख ५२ हजार नाफा कमाएको छ । तेस्रो त्रैमासमा तीन अर्ब १४ करोड ८० लाख १८ हजार नाफा नाफा कमाएको टेलिकमले चौथो त्रैमासमा मात्रै आफ्नो नाफा एक अर्ब पाँच करोड ४४ लाख ३४ हजार बढाएको हो ।

सरकारले नेपाल टेलिकमको पहुँच र गुणस्तर बढाउने कार्यलाई प्राथमिकतामा राखेर सुधारका काम थालेसँगै इन्टरनेट सेवाका प्रयोगकर्ता उल्लेख्य बढेका छन् । शासकीय सुधार सम्बन्धी १०० कार्यसूची र सूचना तथा सञ्चार मन्त्रालयले तयार नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली अन्तर्गतको १० बुँदे सुधारात्मक कार्ययोजनामा नेपाल टेलिकमका सेवा सुधारलाई प्राथमिकतामा राखिएको थियो । सुधारका लागि सरकारी प्रयासको नतिजा कम्पनीको वित्तीय स्वास्थ्यमा पनि देखिन थालेको हो ।

नेपाल टेलिकमका प्रवक्त कमल लामिछानेका अनुसार पछिल्लो समय ‘फाइबर टु दि होम’ (एफटिटिएच) र जिएसएम डाटा खपत बढ्दा आम्दानी बढेको छ । “पछिल्लो समय भ्वाइसमा भन्दा डाटा खपत बढेको छ । कम्पनीको सञ्चालन खर्च पनि गतवर्षको तुलनामा घटेको छ । आम्दानी बढेको र खर्च घटेको कारण समग्र नाफा बढेको हो”, उहाँले भन्नुभयो ।

नेपाल टेलिकमले विज्ञापन, प्रायोजनलगायतका खर्च कटौतीबाट पनि उल्लेख्य बचत गरेको जनाएको छ । फजुल खर्च घटाउने सरकारको नीतिअनुसार सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टेलिकमलाई मितव्ययी र पारदर्शी भएर काम गर्न पटक-पटक निर्देशन दिँदै आउनुभएको छ । जसअनुसार नेपाल टेलिकमले गत आर्थिक वर्षमा मात्रै विज्ञापन र प्रायोजनलगायतका शीर्षकको खर्च कटौतीबाट १० करोड देखि १५ करोड हाराहारी बचत गरेको जनाएको छ ।

सेवा सञ्चालन तथा मर्मत सम्भार खर्च घटेको छ भने नियामकलाई तिर्नुपर्ने रकम पनि अघिल्ला आर्थिक वर्षको तुलनामा घटेको टेलिकमको तथ्याङ्कबाट देखिन्छ । टेलिकमले अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को अन्तिम त्रैमासमा एक अर्ब २२ करोड ४८ लाख चार हजार नाफा कमाएको थियो । अर्थात्, टेलिकमले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा करिब तीन अर्बले नाफा बढाएको हो । यो कर अघिको मुनाफा हो ।

यो अवधिमा टेलिकमको कुल आम्दानीमा समेत उल्लेख्य वृद्धि देखिएको छ । गत वैशाखदेखि असार मसान्तसम्ममा टेलिकमले १० अर्ब ३४ करोड ४७ लाख ५२ हजार कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५८ करोड ८२ लाख १२ हजार ४२८ ले बढी हो । आर्थिक वर्ष २०८१/८२ को अन्तिम त्रैमासमा नेपाल टेलिकमले नौ अर्ब ७५ करोड ६५ लाख ३९ हजार ७८२ बराबर कुल आम्दानी गरेको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया