युएसएस लिङ्कनको अवस्थामाथि प्रश्न

  ३ घण्टा अगाडि

वासिङ्टन, २८ साउन : अमेरिकी नौसेनाको विमानवाहक पोत युएसएस अब्राहम लिङ्कनमा लामो समयदेखि जारी तैनाथीका क्रममा खाद्यान्न अभाव, पानी तथा प्लम्बिङ समस्या र मानसिक स्वास्थ्य सङ्कट देखिएको रिपोर्ट सार्वजनिक भएपछि कङ्ग्रेसका डेमोक्रेट सांसदहरूले जहाजमा रहेका सैनिकको अवस्थाबारे जवाफ मागेका छन् ।

सिनेटर रिचर्ड ब्लुमेन्थलले बुधबार रक्षामन्त्री पीट हेग्सेथलाई पत्र लेख्दै विमानवाहक पोतमा रहेका सैनिकको अवस्थाबारे नौसेनालाई जवाफदेही बनाउन आग्रह गर्नुभएको हो । उहाँका अनुसार युएसएस अब्राहम लिङ्कन २५० दिनभन्दा बढी समयदेखि तैनाथ छ र २०० दिनभन्दा बढी समयसम्म बन्दरगाहमा नरोकी समुद्रमै रहेको अमेरिकी नौसेनाको रेकर्ड बनेको छ ।

ब्लुमेन्थलले लामो तैनाथीका क्रममा जहाजमा आधारभूत सामग्रीको अभाव, पानी प्रदूषण, प्लम्बिङ समस्या, बिग्रँदो मानसिक स्वास्थ्य तथा डेक सुरक्षासम्बन्धी चिन्ता देखिएको विभिन्न रिपोर्टलाई उल्लेख गर्नुभएको छ । उहाँले यति लामो समयसम्म सैनिकलाई समुद्रमै राख्दा उनीहरूको स्वास्थ्य, सुरक्षा र कार्यक्षमतामा पर्न सक्ने असरबारे गम्भीर चासो व्यक्त गर्नुभएको छ ।

सिनेटर रुबेन गालेगोले पनि सामाजिक सञ्जाल एक्समार्फत युएसएस लिङ्कनमा द्विदलीय सिनेट प्रतिनिधिमण्डलबाट औपचारिक निरीक्षण भ्रमण गराउन आग्रह गर्नुभएको छ । उहाँले जहाजमा देखिएको भनिएको चिन्ताजनक अवस्थाको प्रत्यक्ष अनुसन्धान आवश्यक रहेको बताउनुभएको छ ।

युएसएस अब्राहम लिङ्कनले नोभेम्बर २१, २०२५ मा दक्षिण चीन सागरमा तैनाथीका लागि क्यालिफोर्नियाको सान डिएगोबाट यात्रा सुरु गरेको थियो । फेब्रुअरी २८ देखि इरानमा सुरु भएको अमेरिका–इजरायल सैन्य कारबाहीअघि उक्त विमानवाहक पोतलाई मध्यपूर्वतर्फ फर्काइएको थियो ।

लामो समयदेखि घर फर्कन नपाएका सैनिकका परिवारले पनि पछिल्ला दुई बैठकमा नौसेना नेतृत्वसँग जहाजमा रहेका करिब पाँच हजार नाविक तथा मरीनले सामना गरिरहेको कठिन अवस्थाबारे प्रश्न उठाएका थिए । परिवारका सदस्यहरूले खाद्यान्नको अभाव, लामो तैनाथी र आफ्ना आफन्त कहिले घर फर्कन पाउने भन्नेबारे स्पष्ट जानकारी मागेका थिए ।

केही परिवारले जहाजमा रहेका सैनिकमा गम्भीर मानसिक स्वास्थ्य समस्या देखिएको तथा आत्महत्या प्रयाससमेत भएको रिपोर्ट गरेका छन् । यसले लामो समयसम्मको तैनाथीले सैनिकको मानसिक स्वास्थ्यमा पारिरहेको प्रभावबारे थप चिन्ता बढाएको छ ।

गालेगोले बुधबारको आफ्नो पोस्टमा जहाजको अवस्था अत्यन्त गम्भीर रहेको दाबी गर्नुभएको छ । उहाँका अनुसार केही चालक दलका सदस्यले जहाजबाट हामफाल्ने धम्की दिएको रिपोर्टसमेत आएको छ । उहाँले धुवाँले भरिएको स्नानकक्ष, कहिलेकाहीँ मात्र उपलब्ध हुने तातो पानी, सीमित गरिएको खाना र साबुन, बिग्रिएका शौचालय तथा दैनिक १२ देखि १६ घण्टासम्मको कामबारे उल्लेख गर्नुभएको छ ।

गालेगोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भइरहेको सैन्य कारबाहीका क्रममा अमेरिकी सैनिकसँग यस्तो व्यवहार हुनु ‘घृणित मात्र नभई खतरनाक’ समेत रहेको टिप्पणी गर्नुभएको छ । अमेरिकी नौसेनाले भने जहाजमा रहेका सैनिकको अवस्थाबारे टिप्पणी गर्न एएफपीले गरेको अनुरोधको तत्काल जवाफ दिएको छैन ।

युएसएस अब्राहम लिङ्कनको लामो समयदेखिको तैनाथी, जहाजमा रहेका सैनिकको आधारभूत सुविधा तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित रिपोर्ट र परिवारको बढ्दो चिन्ताले अमेरिकी सैन्य अभियानका क्रममा सैनिकको कल्याण र सुरक्षासम्बन्धी प्रश्नलाई पुनः चर्चामा ल्याएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया