साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

  २ घण्टा अगाडि

साना, २४ साउन : साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको यमनका हुथी विद्रोहीले आइतबार दाबी गरेका छन् ।

साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिएलगत्तै हुथी समूहले आक्रमणको दाबी गरेको हो ।

हुथी विद्रोही समूहका सैन्य प्रवक्ता याह्या सारीले जिजानस्थित साउदी आरामको रिफाइनरीलाई ड्रोनमार्फत लक्षित गरिएको बताउनुभयो । उत्तरपश्चिमी यमनमा साउदी ड्रोनको घुसपैठको जवाफमा उक्त कारबाही गरिएको उहाँको दाबी छ ।

साउदी अरबको ऊर्जा मन्त्रालयले यसअघि जिजानस्थित रिफाइनरीको एक केन्द्रमा आइतबार बिहान आगलागी भएको र औद्योगिक सुरक्षा तथा अग्निनियन्त्रण टोलीले आगो नियन्त्रणमा लिएको जनाएको थियो । घटनामा कोही पनि घाइते नभएको मन्त्रालयले जनाएको छ । आगलागीको कारण भने खुलाइएको छैन ।

हुथी विद्रोहीले गत जुलाईमा पनि सोही रिफाइनरीलाई लक्षित गरेको दाबी गरेका थिए ।

साउदी अरब अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारको समर्थनमा एक दशकभन्दा बढी समयदेखि यमनको गृहयुद्धमा संलग्न छ । सन् २०२२ मा भएको युद्धविरामपछि तुलनात्मक रूपमा शान्त रहेको द्वन्द्व पछिल्लो समय पुनः तनावपूर्ण बनेको छ ।

हुथी विद्रोहीले यमनको राजधानी सानासहित देशको ठूलो भूभाग नियन्त्रणमा राखेका छन् । समूहले लाल सागरमा आवतजावत गर्ने जहाज तथा साउदी अरबका तेलसम्बन्धी पूर्वाधारलाई पनि निसाना बनाउँदै आएको छ ।

लालसागरमा जहाज आवतजावत र साउदी तेल पूर्वाधारमाथिको जोखिम मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावबीच देखिएको हो । यसैबीच, ‘स्टे«ट अफ होर्मुज’को सुरक्षालाई लिएर इरान र अमेरिकाबीच पनि तनाव जारी रहेको एएफपीले जनाएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया