नयाँदिल्ली, २० साउन : भारतमा मनसुनी वर्षाले निम्त्याएको बाढी र पहिरका कारण जुलाईदेखि भारतमा एक सयभन्दा बढी व्यक्तिको ज्यान गएको आधिकारिक तथ्याङ्कले बुधबार देखाएको छ । तथ्याङ्कअनुसार हजारौँले डुबानमा परेका कारण आफ्नो घर तथा आवास छोड्न बाध्य भएको जनाइएको छ ।
वार्षिक मनसुनले ल्याएको वर्षामा किसानह निर्भर रहेको बताउँदै वैज्ञानिक जलवायु परिवर्तनले दक्षिण एसिया क्षेत्रमा यस्ता घटनालाई अझ अनियमित, अप्रत्याशित र घातक बनाउँदै गरेको चेतावनी दिएका छन् । भारतको उत्तरपूर्वी राज्य असम मनसुनी वर्षाले सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ ।
उक्त राज्यमा कम्तीमा ८७ जनाको मृत्यु भएको मुख्यमन्त्री हिमान्ता विश्व शर्माले बताउनुभयो । राज्यको सबैभन्दा बढी प्रभावित शिवसागर जिल्लामा धेरै क्षेत्र पानीमा डुबेका कारण करिब ४७ जनाको मृत्यु भएको जनाइएको छ । अधिकारीले राहत र पुनर्वास प्रयासलाई सहयोग गर्न जनताबाट आर्थिक अनुदानका लागि अपिल गरेको शर्माले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिनुभयो ।
उहाँले भौतिक क्षति पुनः स्थापित गर्न सकिने तर कुनै क्षतिपूर्तिले परिवारका प्रियजनलाई प्रतिस्थापन गर्न नसक्ने बताउनुभयो । एएफपी तस्बिरले बासिन्दालाई राज्यको विपद प्रतिक्रिया अधिकारीहरूको सहयोगमा अग्लो स्थानमा डुङ्गा प्रयोग गरेको देखाएको छ । भारतको दक्षिणी राज्य केरलाका मुख्यमन्त्री भिडी सतीसनले केही दिनदेखि परेको भारी वर्षामा कम्तीमा १५ जनाको मृत्यु भएको र अन्य सात जना बेपत्ता भएको जानकारी दिनुभएको छ ।
वर्षाले गर्दा बढेका नदीका किनारमा बसोबास गर्ने दश हजारभन्दा बढी मानिस ३०० भन्दा बढी राहत शिविरमा रहेको जनाइएको छ । भारतीय मिडियाले वर्षाका कारण हिमालय क्षेत्र जम्मू र काश्मीरमा कम्तीमा ३१ जनाको मृत्यु भएको रिपोर्ट गरेका छन् । (रासस/एएफपी)






